बन्द फिर्तापछि के गर्दैछ राजावादीको जनआन्दोलन समिति ?

काठमाडौं । हिजो प्रहरी दमनको विरोधमा आह्वान गरेको बन्द फिर्ता लिएपछि राजावादीको जनआन्दोलन समितिले आज (सोमबार) अन्य कार्यक्रम सार्वजनिक गरेको छैन । राजसंस्था पुनःस्थापनाका लागि थालिएको आन्दोलन पाँचौ दिनमा आइपुग्दा अन्योलमा परेको हो । सरकारले काठमाडौंका तीन ठाउँ बाहेक सबैतिर निषेधाज्ञा लगाइ दिएपछि राजावादीहरू कस्तो रुप र शैलीको आन्दोलन गर्ने भन्नेमा अन्योलमा परेको देखिएका छन् ।
हिजो नारायणचौरबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा सांसद दिपक सिंह पक्राउ परेपछि आन्दोलन चर्किन सक्ने संकेत देखिएको थियो । थापा र सिंहको रिहाइ माग गर्दै आज (सोमबार) बाट काठमाडौं ठप्प पार्ने रणनीति राजावादी शक्तिहरूले बनाएका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले नारायणचौरको सभामा भाषण गर्दै भनेका थिए, ‘भोलिबाट हाम्रो वास्तविक लडाइँ सुरू हुन्छ ।’
नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिले हतारिएर उपत्यका बन्दको आह्वान गरिहाल्यो। तर, सरकारले पनि काउन्टर रणनीति बनाउँदै थापा र सिंहसहित पक्राउ परेका सबैलाई हिजै राति रिहाइ गरिदियो। सरकारको यो कदमले राजावादी शक्तिहरू रक्षात्मक मात्र बनेका छैनन्, आपसी समन्वयको अभाव समेत देखिएको छ।
लिङदेनले हिजो मध्यरातमा स्टाटस लेख्दै जनआन्दोलन समितिले आह्वान गरेको उपत्यका बन्दमा राप्रपाको समर्थन र सहभागिता नरहने जनाए । सरकारको तर्फबाट पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइको सन्दर्भमा उपत्यका बन्दको प्रसंग उठेको भए पनि सबैजना रिहा भइसकेकाले उपत्यका बन्दमा राप्रपा सहभागी नहुने उनको भनाइ थियो ।
भोलिपल्ट बिहान नवराज सुवेदीले पनि विज्ञप्ति निकालेर उपत्यका बन्द फिर्ता लिइएको घोषणा गरे । दुई जनाले सल्लाह गरेर अघिल्लै राति साझा विज्ञप्ति निकाल्न सकिनेमा आपसी असमझदारीको झनक आउने गरी दुई फरक ‘स्टेटमेन्ट’ जारी भएका छन् । पक्राउ परेकाहरूलाई नछाडिएको अवस्थामा उपत्यका बन्द गर्ने कुरामा सबै सहमत थिए । लिङदेनले नै नारायण चौरको कार्यक्रममा भाषण गर्दै भोलि काठमाडौं ठप्प पार्ने बताएका थिए । तर, रिहा भइसकेपश्चात तत्कालै गर्नुपर्ने सरसल्लाह हुन नसक्दा असमझदारी देखिएको हो ।
समिति निकट स्रोतले भन्यो, ‘राप्रपा अध्यक्षबाटै सुरूमा उपत्यका ठप्प पार्ने कुरा आएको हो । तर, राति उहाँले जुन स्टाटस लेख्नुभयो, त्यसले आश्चर्यमा परेका छौं ।’ राप्रपा स्रोतले भन्यो आफूहरूसँग सल्लाह नगरिकन समितिले निर्णय लिएको दाबी गर्यो । राजावादीहरूले आजबाट आन्दोलन कसरी अगाडि बढाउँछन् भन्नेमा पनि अन्योल देखिएको छ ।
पाँच दिनसम्म आन्दोलन गर्दा राजावादीले सरकारको निषेधाज्ञा तोडेका थिएनन् । तर, हिजो काठमाडौंका तीन स्थानबाहेक सबैतिर निषेधाज्ञा लगाइएपछि राजावादी आन्दोलन अन्योलग्रस्त बनेको हो । निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने कि सरकारले तोकेका तीन ठाउँमै खुम्चिएर बस्ने भन्नेमा समितिले कुनै निर्णय लिन सकेको छैन । यो आन्दोलन यत्तिकै तुहिन सक्ने आशंकाहरु पनि राजावादी घटकहरुभित्रै हुन थालेको छ । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला आन्दोलन रोक्नु नहुने र नरोकिने बताउँछन् । आजबाट आन्दोलनलाई कसरी अगाडि बढाउने भनेर अनौपचारिक सरसल्लाह भइरहेको उनले जानकारी दिए ।