१३ औं दिनको प्रसाद खाएका ११० जना बिरामी, चारको अवस्था गम्भीर


१६:२९ बजे

रोल्पा । रोल्पाको खुमेलमा १३ दिनको पूण्य तिथि (शुद्ध कार्य) का अवसरमा पकाएको खाना खाँदा ११० जना बिरामी भएका छन्। स्थानीय एक जना बृद्धको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा प्रसादको रूपमा पकाइएको खाना खाँदा आगन्तुकहरु बिरामी परेका हुन्। प्रहरीका अनुसार पूण्य तिथिका अवसरमा शनिबार भेला भएर खाना खाएका १५० जनामध्ये ११० जना बिरामी भएका थिए । बिरामीलाई रातिसम्म रेउघास्थित रोल्पा अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो । ‘बिरामीमध्ये अधिकांशको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो। धेरै बिरामी परेकालाई अस्पतालमा पठायौं,’ जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चापागाईंले भने ।

रोल्पा नगरपालिका–३ चौरपानी स्थित तिलप्रसाद रोकाको घरमा उनकै ठूलो बुवा चित्रबहादुर रोकाको १३ औं पूण्य तिथिको अवसरमा खानपिन कार्यक्रम आयोजना गरिएको थियो । खाना खाएकाहरु दिउँसो ३ बजेदेखि बिरामी भएका थिए। बिरामी भएका अधिकांशले दालभात, तरकारी, पुरी, अचार खाने बित्तिकै उल्टी (वान्ता) गरेका थिए । घटनापछि १०२ जनालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको थियो भने गम्भीर अवस्थाका १२ जनालाई राति अबेरसम्म रोल्पा अस्पतालमा पठाइएको थियो। अस्पतालका चिकित्सक डाक्टर रिषभ गौतमले सबै बिरामीमा खानामा खराबी (फुड पोइजन) संक्रमण भएको बताए । ‘धेरै जनाको लागि पकाइएको खानामा किटाणुको संक्रमण भएको हुनुपर्छ।

उपचारपछि बिरामीको अवस्था सामान्य छ,’ डाक्टर गौतमले भने। उनका अनुसार गाउँमा धेरै जनाको लागि खाना तयार पार्ने क्रममा सावधानी अपनाउन नसक्दा किटाणु संक्रमित भएको हुन सक्छ । अस्पतालमा ल्याइएका १२ जनामध्ये चार जनालाई उपचार पछि घर पठाइएको छ भने ८ जनाको उपचार जारी छ। बिरामीमध्ये अधिकांशलाई बोमिट हुने र पखाला लाग्ने समस्या छ। उपचाररतमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७