सरकारले डराएर निषेधित क्षेत्र तोक्यो, एमालेको प्रदर्शन गणतन्त्र कमजोर भएको प्रमाण : राप्रपा


१६:३८ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दु राज्य पुनःस्थापनाको माग राख्दै आफूहरूले सुरु गरेको आन्दोलन प्रभावकारी हुँदै गएको निष्कर्ष निकालेको छ । आज (शनिबार) काठमाडौंमा बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले आन्दोलनलाई मध्यनजर गरेर सरकारले निषेधाज्ञा नै जारी गर्नुले आफूहरूले सुरु गरेको आन्दोलन प्रभावकारी हुँदै गएको निष्कर्ष निकालेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । 

प्रदर्शन रोक्न निषेधित क्षेत्र घोषणा गर्नुले सरकार डराएको भन्दै उनले यसबाट आफूहरू थप उत्साहित भएको बताएका छन् । बैठकले आन्दोलनलाई थप सशक्त बनाउन संयुक्त जनआन्दोलन परिचालन समितिको निर्देशन अनुसार परिचालन हुने निर्णय गरेको उनले जानकारी दिए । 

अध्यक्ष लिङ्देनले राज्यले जतिसुकै रोक्न खोजे पनि आन्दोलन नरोकिने स्पष्ट पारे । उनले जेठ १५ गते राजसंस्था पक्षधरहरूको शक्ति र गणतन्त्र पक्षधरहरूको शक्ति जाँच गर्ने मौका प्राप्त भएको जिकिर गरे। ‘जनआन्दोलन’ को विषयमा छलफल गर्न शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई दिनमा देखिएको जनसहभागिता उत्साजनक रहेको निष्कर्ष निकालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार आन्दोलनको समीक्षा, सहभागीहरूको व्यवस्थापन र आगामी रणनीति गरी तीन विषयमा आजको बैठकमा छलफल केन्द्रित थियो । ‘तेस्रो दिनको आन्दोलनमा आइपुग्दा जनसहभागीता उत्साहजनक छ । अझै कसरी व्यवस्थित र जनसहभागीता अझै कसरी बढाउन सकिन्छ र कुन रणनीति अवलम्बन गर्ने भन्ने बारेमा छलफल भयो,’ प्रवक्ता श्रेष्ठले भने । 

प्रदर्शनमा काठमाडौं बाहिरबाट पनि मानिसहरू आएका छन् । उनीहरूलाई हुन सक्ने असुविधाप्रति पनि बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । अझै जनसहभागिता बढाउन के–के गर्ने भन्ने विषयमा छलफल भएको उनको भनाइ छ । ‘त्यसका लागि अझै बढी संवाद जारी राख्ने, भेटघाट र  अझै बढी बैठकहरू गर्ने, स्थानीय तहमा सक्रियता बढाउने र त्यहाँबाट सहभागीता बढाउने विषयमा छलफल भएको छ,’ प्रवक्ता श्रेष्ठले भने । नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ को आह्वानमा बिहीबारदेखि माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन भइरहेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७