राजावादी आन्दोलनबारे प्रचण्डको टिप्पणी : पैसा छ, भाडाका मान्छे ल्याएर चुरीफुरी गर्दैछन्

नुवाकोट । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचनमा चुनाव जितेर देशमा शासन गर्न राजावादीहरुलाई चुनौती दिएका छन् । शनिबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजावादीले अनावश्यक रुपमा संविधान विरोधी गतिविधि गरिरहेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले आगामी २०८४ सालको निर्वाचनमा बहुमतसहित जितेर देशको शासन सत्ता आफ्नो हातमा लिन चुनौती दिए । माग र विरोधका कार्यक्रम गर्ने बहानामा राजावादीहरुले जनतालाई उक्साइरहेको प्रचण्डले आरोप लगाए । उनले यो व्यवस्थालाई आत्मसात गर्न नसक्ने शक्तिहरुले संविधान विरोधी गतिविधि गरिरहेको आरोप लगाए । उनले सरकार र सरकारमा सहभागी दलहरूको कारण राजावादीका नाममा अनेक गतिविधि हुन थालेको उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले राजावादी आन्दोलनमा सहभागीहरुलाई भाडामा ल्याइएको टिप्पणी गरेका छन् । प्रचण्डले राजावादी र पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न आग्रह गरेका हुन् । उनले सदनमा संविधान अनुसार शपथ खाएर संविधानिवरुद्ध नजान चेतावनी दिएका छन् ।
उनले भने, ‘सदनमा यही संविधान अनुसार शपथ पनि खाने कानुन अनुसार सदनमा बसेर सबै सुविधाहरु लिने अनि यही संविधानविरुद्ध जाने तर्कको हिसाबले पनि नैतिकताको हिसाबले पनि विल्कुल बेठीक हो । मैले धेरै अगाडिदेखि भन्दै आइरहेको छु राजावादी र ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगरे हुन्छ । नेपाल धेरै अघि बढिसकेको छ । भाडामा मान्छे ल्याएर कहिलेकाही जुलुस गर्ने कुरा सामान्य हो । राजावादीहरुले चुनाव लडेर बहुमत ल्याएर सरकार बनाउने स्वतन्त्रता उनीहरुलाई छ । राजावादीको पक्षमा एउटा पनि नजित्ने यत्रो उपनिर्वाचन नजित्ने राप्रपा सविधान नै खारेज गर्ने तुक कुनै अर्थ छैन । उहाँहरुसँग अलिकति पैसा छ । त्यही पैसाले मान्छे ल्याउने हो । ’
गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने आफ्नो दलको बटमलाइन रहेको बताउँदै प्रचण्डले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए । नेपालमा अरु मन्त्रीहरू समेत आफूलाई आरोप लाग्दा नैतिकताका आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गरेको उदाहरण दिँदै अध्यक्ष प्रचण्डले गृहमन्त्रीले राजीनामा नदिएसम्म अन्य विषय अगाडि बढ्न नसक्ने बताए ।
अध्यक्ष ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको बताए । अनेक गतिविधिका कारण गणतन्त्रलाई समस्यामा पार्न खोजिएको र त्यो जुनसुकैले गरे पनि दिवास्वप्न मात्रै भएको बताए । अध्यक्ष प्रचण्डले नुवाकोटको शेरा दरबार प्रकरण आफू विरुद्धको षडयन्त्रको एउटा नमूना मात्रै भएको बताए । ‘मैले भनेको छु, यसमा मलाई छानविन सुरु गरियोस भने, तर, छानविन किन गरिएको छैन, म आफैं अचम्ममा परेको छु ’ उनले भने ।
उनले विदुर नगरपालिका २ तादी नदी किनारामा रहेको शेरा दरबार प्रकरण यतिखेर टाईटाइफिस भएको दाबी गरे।खुल्ला रुपमा मैले आफू संलग्नता छैन, छानबिन गरियोस् भनिरहेको छु । तर, किन छानविन हुँदैन ? भनेर प्रतिप्रश्न गरे ।उनले वर्तमान सरकार देशमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र जनभावना अनुसार चल्न नसकेको बताए । सरकार परिवर्तनको खेलमा माओवादी नलागेको उनले दोहोर्याए । प्रचण्डले यो सरकार कुन बेला आफ्नै बोझले ढल्छ, कसैलाई थाहा नभएको टिप्पणी गरे ।