राजासहितको नवीन समझदारीको विकल्प छैन : राजेन्द्र लिङ्देन

‘गणतन्त्रको पक्ष र विपक्षमा हिजै जनमत संग्रह भयो’


२०८२ जेठ १६ शुक्रबार १६:३२ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र र राजतन्त्रको पक्षमा जनता कता छन् भन्नेबारेमा हिजो (जेठ १५ गते) नै रत्नपार्कमै जनमत संग्रह भएको दावी गरेका छन्। राजसंस्था फर्काउने अनिश्चितकालीन आन्दोलनको दोस्रो दिन बिजुलीबजार पुलमा उभिएर पत्रकारसँग कुरा गर्दै लिङ्देनले अब राजासहितको नवीन समझदारीको विकल्प नरहेको दावी गरे।

उनले भने, ‘राजतन्त्र र गणतन्त्रको बारेमा हिजो एक प्रकारले जनमत संग्रह जस्तै भयो । प्रधानमन्त्रीले नै आह्वान गर्नु भएको गणतन्त्र पक्षको प्रदर्शनमा कुन प्रकारको उपस्थिति थियो र गणतन्त्रको विपक्षमा कुन प्रकारको उपस्थित थियो भन्ने देखियो । म प्रधानमन्त्री र दलका नेताहरुलाई कब्जा गर्छु, नियन्त्रण गर्छु, निस्तेज पार्छु भन्ने जस्ता शब्द प्रयोग गर्नुको साटो वार्ता र सहमति खोज्न आग्रह गर्छु ।’

दोस्रो दिनको आन्दोलमा प्रदर्शनकारीहरुले देश जोगाउन राजा चहियो भन्दै नारा लगाएका थिए । यसैबीच, राजसंस्थाको पुनः स्थापनाको मागसहित सुरु भएको ‘संयुक्त जनआन्दोलन’ ले गरेको प्रदर्शनका कारण काठमाडौंको यातायात प्रभावित भएको छ । माइतीघरमा भेला भएका राजावादीहरुले नयाँ बानेश्वरतर्फ आउने क्रममा बबरमहल बिजुलीबजारको मुख्य सडकबाट हिड्दा यातायात प्रभावित भएको छ । यातायात ठप्प भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सवारी साधन अवरुद्ध नगर्न आग्रह गरेका छन्। आन्दोलन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ ।आन्दोलनमा राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका राजावादीहरु सहभागी छन् ।

यसअघि गत चैत्र १५ गते पनि काठमाडौँको तीनकुनेमा राजसंस्थावादी समूहले प्रदर्शन गरेको थियो। त्यसक्रममा राजावादीहरुको आन्दोलन हिंसात्मक बनेपछि एक पत्रकार सहित दुई जनाको मृत्यु समेत भएको थियो। राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने राजावादीहरूले बताएका छन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७