प्रतिनिधिसभाको ‘क्यालेण्डर’ : असार १५ सम्म १९ वैठक, भूमि पर्यो, शिक्षा विधेयक परेन

काठमाडौं । संघीय संसद सचिवालयले असार १५ गतेसम्मको प्रतिनिधिसभाको ‘क्यालेण्डर’ तयार गरेको छ। आज (शुक्रबार) बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयानुसार असार १५ गतेसम्मको उक्त क्यालेण्डर तयार गरिएको हो। क्यालेण्डर अनुसार, जेठ २० गतेदेखि प्रतिनिधिसभा बैठक बस्नेछ।
सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठमा १० दिन र असारमा ९ दिन गरी १९ दिन सस्नेगरी क्यालेण्डर पारित गरेको हो । पारित कार्यतालिका अनुसार जेठमा २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते बैठक बस्नेछ । त्यस्तै असारमा १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते बैठक बस्नेछ। संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार यही २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुनेछ। २३ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका जवाफमा प्रष्टीकरण दिने छन्।
२६ गतेबाट मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्तावहरू राखिएको छ । सम्भावित तालिकाअनुसार २० गते संघीय निजामती सेवा विधेयक पेश गरिनेछ। त्यस्तै २५ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पेश गरिनेछ। शिक्षा विधेयक भने यो तालिकामा परेको छैन। उक्त विधेयक संसदीय समितिबाट नटुंगिसकेको र पछि आएपछि कार्यसूचीमा राखिने बताइएको छ। शिक्षकसँगको भएको सहमतिअनुसार सरकारले असार १५ सम्म शिक्षा ऐन जारी गर्ने प्रतिवद्धता जनाएको छ।
कार्यतालिका