ट्रायल बिनै लाइसेन्स, यातायातका तीन कर्मचारीसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सभ्यता केसीको नाममा ‘बी’ श्रेणी थप हुनुपर्नेमा अर्कैको नाम परिवर्तन गरी रकम असुली गरेर लाइसेन्स जारी गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
लाइसेन्समा ‘बी’ श्रेणी थप हुनुपर्नेमा, अर्कैको नाम (०१–०८–०१०३१२६२) परिवर्तन गरी रकम असुली गरेको भन्ने उजुरी आयोगमा परेको थियो। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीका कम्प्युटर अपरेटरले रकम लेनदेन गरेर ट्रायल परीक्षामा सहभागी नै नभएका सभ्यता केसीलाई कार, जीप तथा डेलिभरी भ्यानको लाइसेन्स दिएको फेला परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा उक्त घटनामा तत्कालीन कम्प्युटर अपरेटर पराजुली, सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरको संलग्नता देखिएको आयोगको दाबी छ। सार्वजनिक अभिलेख दुरुपयोगमा संलग्न रहेको भन्दै आयोगले सभ्यता केसीलाई पनि प्रतिवादी बनाएको छ। आयोगले उनीहरूविरुद्ध शुक्रबार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, ११ र २२ अन्तर्गत विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। आयोगले सभ्यता केसीलाई पनि मुख्य कसुरदार सरह नै सजायको मागदाबी गरेको छ।