देशभर कालोपत्र सडक १९ हजार १६३ किलोमिटर
आधारभूत खानेपानी सेवाको पहुँच ९६.८५ प्रतिशत

काठमाडौं । नेपालभरि कोलोपत्र सडक १९ हजार १६३ किलोमिटर पुगेको छ । आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार संघीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल समेत जोड्दा उक्त मात्रामा सडक कालोपत्र भएको देखिएको छ ।
यस अवधिमा ८ हजार २ सय ४ किलोमिटर खण्डस्मित र ८ हजार ७ सय ६५ किलोमिटर सडक कच्ची पुगेको छ। देशभरि सडक लम्बाइ ३६ हजार १ सय ३२ किलोमिटर पुगेको अर्थ मन्त्रालयले जनाएको छ। खानेपानीतर्फ फागुन २०८१ सम्म आधारभूत खानेपानी सेवा पहुँच ९६.८५ प्रतिशत जनसंख्यामा पुगेको छ।
आधारभूत खानेपानी सेवाको पहुँच ९६.८५ प्रतिशत
सरकारले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार मुलुकमा करिब ९६.८५ प्रतिशतमा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ ।
आज अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको सो प्रतिवेदनमा २०८१ फागुनसम्ममा ९६.८५ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको उल्लेख छ । ‘२०८१ फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसंख्या ९६.८५ प्रतिशत र सुरक्षित खानेपानी (उच्च मध्यमस्तर) सेवाको पहुँच पुगेको जनसंख्या २८.५० प्रतिशत पुगेको छ’, सर्वेक्षणमा भनिएको छ, ‘विसं २०८१ असारसम्म यस्तो जनसंख्या क्रमशः ९६।७५ प्रतिशत र २७.७६ प्रतिशत रहेको थियो ।’
चालु आर्थिक वर्षको फागुनसम्म विभिन्न १७ खानेपानी आयोजना सम्पन्न भएको र सम्पन्न भएका आयोजनाबाट यस अवधिमा थप दुई लाख पाँच हजार ५६९ जनसंख्यामा खानेपानी सेवा विस्तार भएको सर्वेक्षणमा उल्लेख छ।सर्वेक्षणअनुसार मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत खानेपानी वितरणका लागि ७९६ किलोमिटर पाइप बिछ्याउने लक्ष्य रहेकामा २०८१ फागुनसम्म ७६० किलोमिटर पाइपलाइन बिछ्याइ सकिएको छ । यसैगरी, काठमाडौँ उपत्यकाभित्र २६५ सरकारी विद्यालय, ४६ सरकारी भवन र ८९ सार्वजनिक भवन गरी हालसम्म ४०० स्थानमा बर्सातको पानी संकलन प्रविधि जडान भएको सर्वेक्षणमा उल्लेख छ ।