आज एकै दिन, एकै स्थान रत्नपार्कमा एमाले र राजावादीको प्रदर्शन

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन मानवअधिकार आयोगको अपिल


२०८२ जेठ १५ बिहीबार १६:४४ बजे

काठमाडौं । आज जेठ १५ गते, गणतन्त्र दिवसका दिन सत्तारुढ नेकपा एमाले र राजावादी समूहले एकै स्थान रत्नपार्कमा प्रदर्शन गर्दैछन् । तर एमालेको कार्यक्रम सकिएपछि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादी समूहले प्रदर्शन गर्ने समय तय गरिएको छ । 

जिल्ला सुरक्षा समिति काठमाडौँको बैठकले एमालेले गर्ने गणतन्त्र उत्सवको कार्यक्रम दिउँसो २ बजेसम्ममा सक्ने र त्यसपछि राजावादीले सोही स्थानमा कार्यक्रम गर्ने सहमति गराएको हो। राप्रपा र ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले दिउँसो २ बजेपछि शान्तिवाटिकामा कार्यक्रम गर्ने भएका हुन् । कुनै अप्रिय घटना नहोस् भनेर आज नेपाल प्रहरीले काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ । 

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन मानवअधिकार आयोगको अपिल
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आज (बिहीबार) हुने भनिएको जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ । आयोगले राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा २०८२ जेठ १५ गते काठमाडौँमा गर्ने भनिएको प्रदर्शनको सन्दर्भमा अपनाइने सुरक्षा सतर्कता सम्बन्धमा काठमाडौँ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा जिल्ला प्रहरी प्रमुखहरूसँग बुधबार छलफल गर्दै उक्त अपिल गरेको हो ।

आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसात गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन गरेका छन् । आयोगले विभिन्न टोलीहरू बनाई प्रदर्शनको मानवअधिकारको कोणबाट अनुगमन समेत गर्नेछ ।

उनले आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनमा उल्लिखित प्रावधानहरूको पालनामा संवेदनशील हुँदै एकअर्काप्रति अमर्यादित टीकाटिप्पणी नगर्न र आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनरत पक्षलाई अपिल गरे । जनप्रदर्शनका क्रममा सुरक्षा संवेदनशीलतामा आउन सक्ने जोखिमहरूको आकलन गर्दै शान्ति सुरक्षाको व्यवस्था मिलाउन र मानव अधिकारका मूल्य मान्यतालाई ध्यान दिन नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरूलाई आग्रह गरिएको छ ।

छलफलका क्रममा प्रदर्शन शान्तिपूर्ण होस् र कुनै बाधा–व्यवधान नआओस् भन्नेतर्फ सचेत रही सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखिएको, शान्ति सुरक्षालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकायबीच समन्वय गरिएको, दुई पक्षबीच झडपको स्थिति आउन नदिन दुवै समूह एकापसमा जम्काभेट नहुने गरी प्रबन्ध मिलाइएको, सञ्चार गृहलगायतका संवेदनशीलस्थलहरूको सुरक्षामा ध्यान दिइएको र सडकमा सहज आवागमनमा अवरोध हुन नदिन तथा नागरिकको सुरक्षालाई दृष्टिगत गर्दै सुरक्षा रणनीति तयार पारिएको प्रमुख जिल्ला अधिकारीहरू एवम् जिल्ला प्रहरी प्रमुखहरूले बताएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७