प्रधानमन्त्रीको अभिव्यक्तिबारे गृहमन्त्री : उपत्यका संगीतको नियन्त्रणमा हुन्छ भन्नु भएको हो

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अहिलेको संविधान र गणतन्त्रात्मक व्यवस्था उल्टाउने विषयलाई सहन नसकिएको बताएका छन् । उनले भोलि काठमाडौमा शान्ति सुरक्षाको उचित प्रवन्ध गरिने बताए ।
आफ्नो राजीनामा मागको विषयलाई सम्वोधन गर्न आयोजित पत्रकार सम्मेलनमा उनले ठूलो त्याग तपस्या र बलिदानबाट प्राप्त भएको यो संविधान र व्यवस्थालाई जोगाउन सरकार प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा काठमाडौं कब्जा गर्न एमाले कार्यकर्तालाई दिएको निर्देशनका विषयमा पनि लेखकलाई सोधिएको थियो । जवाफमा उनले प्रधानमन्त्रीले राजनीतिक नियन्त्रण नभएर सांगीतिक नियन्त्रणको कुरा गरेको बताएका छन् ।
‘उहाँले (प्रधानमन्त्रीले) संगीतमय नियन्त्रणको कुरा गर्नु भएको हो । कुनै राजनीतिक नियन्त्रण, हिंसात्मक नियन्त्रण, विध्वंशात्मक नियन्त्रण होइन । संगीतको नियन्त्रण, पूरै काठमाडौं उपत्यका संगीतमय बनाऔं,’ प्रधानमन्त्रीको अभिव्यक्तिलाई व्याख्या गर्दै गृहमन्त्री लेखकले भने, ‘यो काठमाडौं उपत्यका संगीतमय बनाऔं । यो उपत्यका संगीतको नियन्त्रणमा हुन्छ भन्ने अर्थमा भन्नु भएको बुझेको छु ।’
गणतन्त्रलाई उत्सवका रूपमा मनाउन संगीतमय काठमाडौं भन्ने अर्थमा प्रधानमन्त्रीले त्यस्तो बोलेको उनले बताए । ‘हाम्रा जति पनि परम्परागत बाजाहरू छन्, सांगीतिक कलाहरू छन्, त्यसको सडकमा प्रदर्शन गरेर गणतन्त्र दिवसलाई सांगीतिक महोत्सवका रुपमा मनाऔं भन्ने अर्थमा भनेको मैले बुझेको छु’, गृहमन्त्री लेखकले बताए ।