विपक्षीको अवरोधपछि संसद वैठक स्थगित

काठमाडौं । विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभा आज (बुधबार) पनि सुुरु हुुनासाथ स्थगित भएको छ। विपक्षीको अवरोधपछि सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि संसद बैठक स्थगित गरेका छन्। सभामुख देवराज घिमिरेले वैठक सुरु गर्नासाथ विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै उठेर बैठकमा अवरोध गरेका छन् । विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै सदनमा अवरोध गरिरहेका हुन् ।
यसअघि मंगलबारको बैठकमा पनि विपक्षीले अवरोध गरेका थिए । सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन हिजो र आज प्रमुख सचेतकसँग छलफल गरेका थिए । सभामुख देवराज घिमिरेले आजको बैठकको सुरु भएको जानकारी गराए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए। निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी सुरु भएको बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए । तर विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र उठिरहे ।
‘प्रत्येक माननीयलाई बोल्न दिएर कसरी सकिन्छ । म दलीय आधारम समय उपलब्ध गराउँछु’ सभामुख घिमिरेले भने । उनले दलीय आधारमा नबोल्ने भए गृहमन्त्री जवाफ दिने प्रस्ताव गरे । ‘आज माननीय सदस्यहरूले दलीय आधारमा बोल्नु पर्छ नभए गृहमन्त्रीले समय माग्नु भएको छ । त्यसले गर्दा बसेर वातवारण बनाउनुस् । बल्ल कार्यक्रम अघि बढ्छ’ उनले भने, ‘माननीय सदस्यहरूले मान्नु हुन्छ भने म उहाँलाई समय दिन्छु । सभाको कारबाही अगाडि लैजानु पर्छ ।’