राजावादीको आन्दोलन र एमालेको उत्सव एकै दिन : कसको कार्यक्रम कहाँ ?


२०८२ जेठ १४ बुधबार १६:४६ बजे
फाइल फोटो

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र व्यवस्था परिवर्तनको आवाज उठाइरहेका राजावादी समूहले भोलि (बिहीबार) काठमाडौंमा एकै दिन शक्ति प्रदर्शन गर्दैछन् । सरकारको नेतृत्व गरिरहेको एमालेले गणतन्त्र दिवसको उत्सव मनाउन भोलि काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ भने राजतन्त्रवादीहरूले राजतन्त्र र हिन्दू राज्यलगायतका मागहरू राखेर भोलि नै अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । गत चैत १५ को राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि राजवादीले गर्ने थप कार्यक्रमहरूलाई विशेष चासोका रूपमा हेरिएको छ। 

सो दिन काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन समेत दिएका छन् । तर, यी दुवै कार्यक्रम कहाँ हुने भन्ने टुंगो लागेको छैन। जिल्ला प्रशासन कार्यलय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी अशोककुमार भण्डारी नेकपा एमालेले भृकुटीमण्डप, रत्नपार्क, पुतलीसडक क्षेत्रमा कार्यक्रमका लागि स्थान माग गरेको छ । ‘जिल्ला सुरक्षा समितिको बैठक आज दिउँसो बस्ने छ,’ भण्डारीले भने, ‘यस विषयमा हामी बुझ्ने र निर्णय गर्ने काम बाँकी छ ।’

नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले यस पटक राजावादीको आन्दोलनको नेतृत्व गर्दैछ । राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जेठ १५ गतेबाट जनआन्दोलन सुरु गर्ने र राजसंस्था र हिन्दूराज्य पुनस्र्थापना नभएसम्म आन्दोलन नरोक्ने घोषणा गरिएकोले आन्दोलनका लागि कोही कसैसँग समय लिनु नपर्ने बताए । उनका अनुसार शान्तिबाटिकामा १२ बजे भेला भएर शान्तिपूर्ण ढंगबाट आन्दोलन हुनेछ । उनीहरूका अनुसार यो आन्दोलन अन्तर्गत जेठ १५ गतेबाट देशका विभिन्न स्थानमा स्वतःस्फूर्त रूपमा धर्ना, जुलुसलगायत जनप्रदर्शनहरू हुनेछन् ।

जिल्ला प्रशासन कार्यालयबाट टुँडिखेल आसपासका सुन्धारा, भृकुटीमण्डप, रत्नपार्क लगायतका क्षेत्रका सांस्कृतिक कार्यक्रमहरू गर्न भनेर अनुमति लिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन् ।  नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले घोषणा गरेको संयुक्त जनआन्दोलन काठमाडौं केन्द्रित हुनेछ । तर, समितिले अहिलेसम्म कुनै पनि ठाउँमा प्रदर्शन गर्नका लागि अनुमति नमागेको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए ।

राजावादीहरूले भोलिबाट हुने आन्दोलन व्यवस्था उल्टाउने जनविद्रोह भएकाले अनुमति लिइराख्नु नपर्ने बताएका छन् । यद्यपि, प्रशासनलाई जानकारी भने गराइने राप्रपा नेपालका एक प्रवक्ता राजाराम बर्तौला बताउँछन् । उनले भने, ‘हामी सम्भवतः लिखित रूपमा नै जानकारी गराउने छौँ । यसमा अनुमति पर्खेर चाहिँ बस्दैनौं ।’ यता, प्रहरी उच्च स्रोतले भने राजावादीलाई रिङरोडभित्र कार्यक्रम गर्न नदिने रणनीति रहेको बतायो। स्रोतले भन्यो, ‘राजनीतिक तहबाट भएको निर्देशन अनुसार राप्रपालाई रिंगरोड बाहिरका लागि मात्रै अनुमति दिने तयारी छ ।’

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले उपत्यकाका विभिन्न प्रहरी युनिटसँग समन्वय भइरहेको बताए । यसअघि १५ चैतको घटनामा सरकारी वकिलको कार्यालयले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबरा, दुर्गाप्रसाद प्रसाईसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोग पत्र तयार गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम मुद्दा दायर गरेको छ । ११ जनालाई आपराधिक उपद्रवअन्तर्गत र अन्यलाई व्यक्ति विशेष मुद्दा दर्ता गरिएको छ ।

अहिले जिल्ला अदालतमा बयान सुरु भएको छ । हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोप लागेका चार बालकविरुद्ध पनि बाल अदालतमा मुद्दा दायर भएको छ । प्रदर्शनकै क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सबिन महर्जनको मृत्यु भएको थियो भने २० जना प्रदर्शनकारी प्रहरीको गोली लागेर घाइते भएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७