पदाधिकारी बैठकमा गृहमन्त्री लेखक : पार्टीलाई अप्ठ्यारो पर्ने भए राजीनामा दिन तयार छु

देउवाले भने–आफ्नो काम गर्दै जानू, चिन्ता लिनु पर्दैन


२०८२ जेठ १२ सोमबार १६:५२ बजे
फाइल फोटो

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पार्टीलाई अप्ठ्यारो पर्ने भए राजीनामा दिन तयार रहेको बताएका छन् । आज (सोमबार) सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरू सामेल बैठकमा लेखकले यस्तो बताएका हुन् । 

बैठकको सुरुमै भिजिट भिसा प्रकरणमा सभापति शेरबहादुर देउवासहितका नेताले लेखकलाई प्रष्टीकरण दिन आग्रह गरेपछि लेखकले आफ्नो धारणा राखेका हुन् । लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दोहो¥याउँदै मार्ग प्रशस्त गर्न तयार रहेको बताए । ‘यसमा मेरो कुनै संलग्नता छैन । पार्टीभित्रैबाट पनि असहयोग भयो । शेखर डाक्टर सापहरूसहितबाट सार्वजनिक बेइज्जती गर्ने काम भयो,’ लेखकलाई उद्धृत गर्दै एक पदाधिकारीले सुनाए, ‘मेरो कारणले पार्टीलाई अप्ठ्यारो नै परेको भए म राजीनामा दिन तयार छु । होइन भने मेरो दोष केही छैन ।’

उनले नेताहरूलाई आफ्नो विगत केलाएर हेर्न र आफूमाथि मूल्यांकन गर्न पनि आग्रह गरेका थिए । ‘सबैलाई मेरो आग्रह छ–मेरो विगत हेर्नुस् । मबाट यस्तो हुनै सक्दैन । यति हुँदाहुँदै पनि पार्टीले, पार्टीका नेताहरूले असहयोग नै गर्ने भए म राजीनामा गर्न तयार छु’ उनले भने । सभापति देउवाले लेखकलाई ढाडस दिँदै  राजीनामा दिनु नपर्ने बताएका थिए । ‘यसलाई मैले÷हामीले पनि नियालिरहेका छौं । राजीनामा दिनु पर्दैन,’ देउवाले भने, ‘आफ्नो काम के हो, गर्दै जानू । यस विषयमा धेरै चिन्ता लिनु पर्दैन ।’ बैठकमा लेखकले बोलेपछि सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले ढाडस दिएको एक पदाधिकारीले जानकारी दिए । 

सभापति देउवाले २०४८ सालमै गृहमन्त्री हुँदा पनि यस्ता समस्या सामना गरेर आएको बताएका थिए । ‘समस्या हुन्छन् । म गृहमन्त्री हुँदा २०४८ सालमा पनि केही समस्या आएका थिए,’ देउवाले विषय उल्लेख नगरी बैठकमा भनेका थिए, ‘यसैले समस्यासँग लड्ने हो, समाधान गर्ने हो, यसबाट भाग्ने होइन । गल्ती नगरेको विषयमा डराउनु हुँदैन ।’
देउवाले गृहमन्त्री हुँदा संसदमा ‘गोलीको आँखा हुँदैन’ भनेर बोलेको विषयमा त्यतिखेर विवाद भएको थियो । देउवाले त्यसै प्रसंगतर्फ इंगित गरेको एक नेताले जानकारी दिए । प्रतिपक्षमा हुँदा २०४८ सालमा एमालेले सडक आन्दोलन गरेको थियो । यही आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १३ वर्षीया सम्झना दाहाल र ७ वर्षका अनिश शाक्यको मृत्यु भएको थियो ।

यो घटनापछि एमाले झन् आक्रामक भएको थियो । अनि संसदमा जवाफ दिन उपस्थित भएका तत्कालीन गृहमन्त्री देउवाले ‘गोलीको आँखा हुँदैन’ भनेका थिए । एमाले नेताहरूले बेलाबेलामा यही प्रसंग ल्याउँदै देउवामाथि कटाक्ष गर्दै आएका छन् । यिनै प्रतिस्पर्धी दुई ठूला दल ११ महिनादेखि संयुक्त सरकारमा छन् । सोमबारको बैठकमा देउवाले मात्रै होइन, उपसभापति खड्काले आफू २०५६ सालमा गृहमन्त्री हुँदा टेलिभिजन चोरिएको एउटा किस्सा सुनाएका थिए । गृहमन्त्री भएको समयमा काभ्रेको एउटा घरमा टेलिभिजन चोरी भएको थियो । तर, केही सांसदले टेलिभिजन चोरी गर्नेलाई पत्ता नलगाए गृहमन्त्रीले राजीनामा दिनुपर्छसम्म भनेका थिए,’ खड्काले बैठकमा भने, ‘यसैले पदमा बसेपछि अरूले पनि बदमासी गर्छन् । तर, आफूले बदमासी गरेको छैन भने डराउनु हुँदैन, सामना गर्नुपर्छ ।’ 

बैठकमा लेखकले विमानस्थलस्थित अध्यागमन कार्यालयका केही कर्मचारीले बदमासी गर्न लागेपछि सरुवा गरेको जिकिर गरेका थिए । ‘केही कर्मचारीले बदमासी गरेको कम्प्लेन आएपछि कर्मचारी हटाएको र मन्त्रालय तानेको हुँ भनेर उहाँले प्रस्ट पार्नुभयो,’ बैठकमा सहभागी एक नेताले भने, ‘एयरपोर्ट अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धानले नियन्त्रणमा लिएपछि र मोबाइल जफत गरेपछि थाहा पाएको बैठकमा बताउनु भयो ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७