क्रान्ति अझै सकिएको छैन : अध्यक्ष प्रचण्ड


२०८२ जेठ ९ शुक्रबार १८:०९ बजे

बागलुङ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताका अधिकांश काम पूरा भएको बताएका छन् । बाँकी कामलाई पनि छिटै पूरा गर्ने बताएका छन् । ‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ को क्रममा बागलुङको ताराखोला पुगेका प्रचण्डले ‘जनयुद्ध’ का सहिदलाई ‘राष्ट्रिय सहिद’ घोषणा गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए । उनले आफ्नो प्रधानमन्त्रीकालमा त्यो निर्णय गरेको बताए । त्यसबाहेक जनयुद्धका धेरै उपलब्धि संस्थागत गर्ने काममा पनि माओवादी नेतृत्वको सरकारले नै काम गरेको बताए ।

प्रचण्डले ताराखोला गाउँपालिका–२ को अर्गलमा निर्मित सहिद तथा बेपत्ता पार्कको उद्घाटन गरेका  छन् । जनयुद्धका सहिद र बेपत्ता परिवारलाई सम्मान समेत गरे । उनले सहिद परिवारको जगमा नै नेपालको राजनीतिक परिवर्तन सम्भव भएको भन्दै सहिदलाई बिर्से जस्तो भए पनि इतिहासले फेरि खोज गर्ने बताए । ‘क्रान्ति सकिएको छैन, त्यसैले इतिहासमा सहिदका चिहान खनेर कंकाल निकालेर पनि सम्मान गर्ने दिन आउँछ,’ उनले भने, ‘धैर्य गरेर सहिदका सपना पूरा गर्न लाग्नुपर्छ ।’

जनयुद्धको जगमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको भन्दै अब राजनीतिक परिवर्तनपछि सामाजिक र आर्थिक समृद्धिमा पनि माओवादीले नै अगुवाई गर्ने प्रचण्डले दाबी गरे । काम गर्दागर्दै बहुमतको दम्भ देखाएर कांग्रेस एमालेले माओवादीको सरकार ढालेको आरोप पनि लगाए । ‘संसारमा पहिलो र दोस्रो दल मिलेर सरकार बनाएको कतै छैन,’ उनले भने, ‘सुशासन दिन खोजेपछि भ्रष्टहरूले सरकार ढलाए ।’

उनले जनयुद्धलाई हिंसा र आतंक थियो भन्नेहरूले जनयुद्धको गतिमा काम गर्न नसक्ने समेत ठोकुवा गरे । ‘जनयुद्ध युगान्तकारी परिवर्तनको घटना थियो, सामाजिक समावेशीकरणको लागि महिला, दलित, उत्पीडितले गरेको विद्रोह थियो,’ उनले भने, ‘राजनीतिक रूपमा प्रशिक्षित र सुझबुझपूर्ण आन्दोलन भएकाले देशलाई परिवर्तन गर्न सफल भयौं ।’ उनले जाली र फटाहाहरूले मात्र जनयुद्धको विरोध गरेको टिप्पणी गरे ।

मध्यपहाडी लोकमार्ग छाडेर अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कृष्णबहादुर महरा, पम्फा भुसाल, अग्नि सापकोटा, नन्दबहादुर पुन, महासचिव देव गुरुङलगायतका शीर्ष नेता बिहीबार अर्गलको किकल्टा होमस्टेमा बास बसेका थिए । अध्यक्ष प्रचण्डले अलपत्र परेको सहिदमार्ग निर्माण र उद्घाटन भएको सहिद पार्क व्यवस्थापनका लागि बजेट तथा कार्यक्रममा समावेश गर्न पहल गर्ने बताए । जनयुद्धकालमा श्रमदान गरेर बनाइएको ४० किमीको सहिदमार्ग अहिले पनि स्तरोन्नति भएको छैन। उक्त सडकबाट वर्षातमा यात्रा गर्न कठिन छ ।

गण्डकी प्रदेश सरकारको ५६ लाख, ताराखोला गाउँपालिकाको १८ लाख जुटाएर ७४ लाख रुपैयाँमा सहिद पार्क निर्माण भएको हो । झन्डै १५ रोपनी जमिनमा ताराखोला गाउँपालिकाभित्रका सहिदको सालिक निर्माण भएको छ । जनयुद्धकालमा ताराखोलाका २६ जना मारिएका थिए । दुई जना बेपत्ता छन् । उनीहरुको अर्धकदको सालिक निर्माण गरेर पार्कमा राखिएको छ । यहाँ पुग्ने पदमार्ग तथा मोटरबाटो निर्माणमा पनि गाउँपालिकाले लगानी गरिरहेको अध्यक्ष धनबहादुर विकले जानकारी दिए । ताराखोला गाउँपालिकाले तीन वर्षदेखि सहिद परिवारलाई जीविकोपार्जन गर्न भन्दै मासिक एक हजार भत्ता दिँदै आएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७