प्रधानमन्त्री आज पोखरा जाँदै, युवा संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास

कास्की । प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) पोखरा जाने भएका छन्। नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न उनी त्यसतर्फ जान लागेका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, एसपी श्यामबाबु ओलियाका अनुसार प्रधानमन्त्री ओली ११ बजे हेलिकप्टरमार्फत त्यहाँ पुग्नेछन् । पोखराको अमरसिंह चौरमा प्रधानमन्त्री महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली पोखरा जाने भएपछि त्यहाँको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शङ्कर पोखरेल र पृथ्वी सुब्बा गुरुङ लगायतले सम्बोधन गर्ने तय भएको एमाले केन्द्रीय सदस्य तथा युवा संघ नेपालका इन्चार्ज राजीव पहरीले बताए । महाधिवेशनमा देशभरबाट २ हजार प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए ।
यता राष्ट्रिय युवा संघ नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट हुने नेतृत्व चयन प्रक्रिया सकेसम्म सर्वसम्मत बनाउने प्रयास थालिएको छ । सर्वसम्मत चयनकै लागि बिहीबार साँझ पोखरामा एमाले नेताहरू भानुभक्त ढकाल, महेश बस्नेत, किरण पौडेल निरुदेवी पाललगायतका नेताहरूको उपस्थितिमा युवा संघको पदाधिकारी बैठक बसेको थियो । बैठकमा सकेसम्म नयाँ नेतृत्व चयन गर्ने विषयमा छलफल भएको छ। तर यस पटक सर्वसम्मतिले नेतृत्व चयन गर्नु त्यति सजिलो देखिँदैन । किनभने यस पटक पदाधिकारीको संख्या १७ बाट घटाएर ९ बनाइएको छ भने, तीन सय ३३ केन्द्रीय सदस्य घटाएर एक सय ५१ मा झार्नुपर्ने भएको छ।
यद्यपि, नेतृत्व चयन सहमतिमै गर्न प्रयास गरिने एमाले नेताहरूले बताएका छन्। ४० वर्षे उमेर हदका कारण उपाध्यक्षहरू अमित लामा, पुष्प श्रेष्ठ, रमेश तिवारी, सीता सुवेदी र अनिता कन्दङ्वा संगठनबाट अलग भइसकेका छन्। हाल अध्यक्ष पदको दौडमा महाराज गुरुङ, कृष्णहरी केसी र महासचिव सुमन पुरी रहेका छन्। त्यस्तै, महासचिव पदको दौडमा महेश चौलागाईं, विनय शाह, निरोज पौडेल, कुवेर अधिकारी र पर्वत भण्डारी छन्। हालका अध्यक्ष क्षितिज थेवे पुनः उम्मेदवार हुने कि नहुने भन्ने विषयमा हालसम्म कुनै स्पष्ट धारणा आएको छैन। तथापि, महाधिवेशनमा जे पनि हुन सक्ने एमाले नेताहरूको भनाइ छ।