बालेनलाई गणतन्त्र दिवसको मूल समारोह समितिबाट हटाउन प्रधानमन्त्रीको निर्देशन


२०८२ जेठ ५ सोमबार १९:३१ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको खोजी गरेका छन् । आज (सोमबार) प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस मूल समारोह समिति गठन गर्नका लागि सम्बन्धित सबैलाई बैठकमा आह्वान गरेका थिए । 

तर, काठमाडौं महानगरपालिकाबाट मेयर बालेन नभई उपमेयर सुनिता डंगोल उपस्थित भइन् । छलफल हुने क्रममा प्रधानमन्त्री ओलीले बालेनको खोजी गरे । बालेनको नाम नलिई प्रधानमन्त्री ओलीले महत्वपूर्ण कार्यक्रमहरूमा काठमाडौं महानगरपालिकाको जनप्रतिनिधि सहभागी नहुनु राम्रो नभएको बताए । ‘महत्वपूर्ण बैठकहरूमा सहभागी हुनुपर्छ, आगामी दिनमा यस्तो नहोस्,’ प्रधानमन्त्रीले भनेका थिए । गणतन्त्र दिवस, मूल समारोह समितिको बैठकमा अनुपस्थित भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नाम समितिबाटै हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

अघिल्लो वर्ष पनि उनी गणतन्त्र दिवसको अवसरमा आयोजित सभामा सहभागी भएका थिएनन् । आजको बैठकमा पनि उनी अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले बैठकमा चासो राखेका थिए । ‘उहाँले नामै त भन्नु भएन, तर काठमाडौं महानगरका प्रमुख यसरी अनुपस्थित हुनुमा उहाँ (प्रधानमन्त्री) ले चासो राख्नु भयो,’ बैठक स्रोतले भन्यो, ‘उहाँ (बालेन) नआउने हो भने अबदेखि समितिमा नै नराख्नू ।’

ती स्रोतका अनुसार, सम्भवतः मूल समारोह समितिको पदेन सदस्यमा महानगरको मेयर रहने व्यवस्था हटाइनेछ । बैठकले प्रधानमन्त्री ओलीकै संयोजकत्वमा दिवस मूल समारोह समिति गठन गरेको छ । समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृत, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरू, सदस्य र गृह मन्त्रालयका सचिव सदस्य सचिव रहने छन् ।

बैठकले आगामी जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्वलनसहित त्रिदिवसीय रूपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–संस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरेको छ। विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिने छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७