५५ लाख बढी नगद र खैरो हिरोइनसहित दाजु–बहिनी पक्राउ

सिरहा । सिरहा प्रहरीले ठूलो परिमाणको लागुऔषध खैरो हिरोइन र ५५ लाख बढी नगदसहित पक्राउ परेका दाजु–बहिनीलाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा लहान नगरपालिका– २२ का ३२ वर्षीय दिनेशकुमार यादव र उनकी बहिनी २६ वर्षीया किरणकुमारी छन्। उनीहरुबाट ५५ लाख २२ हजार ९८३ रुपैयाँ नगद र खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लास्टिकसहित २०८.९० ग्राम तथा प्लास्टिकबाहेक २०१ ग्राम बरामद गरिएको सिरहा प्रहरीले जनाएको छ।
गोप्य सूचनाको आधारमा वैशाख २ मा लहान नगरपालिका– १२ भोटिया टोलबाट पक्राउ परेका उनीहरुलाई आज सार्वजनिक गरिएको छ। पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता तथा डीएसपी वीरेन्द्र पासवानले दिनेश लागुऔषध मुद्दामै जेल सजाय काटेको पाइएको जानकारी दिए । उनका अनुसार यादव २०८० साउन १२ मा प्लास्टिकसहित ४.४ ग्राम र प्लास्टिकबाहेक ३.६ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका थिए । सो मुद्दामा असोज २४ गते पुर्पक्षका लागि कारागार चलान भएकोमा अदालतको फैसलाबमोजिम ६ महिना कैद भुक्तान गरी छुटेको खुलेको छ।
सिरहाका प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले बरामद रकम उनीहरुले खैरो हिरोइन बिक्रीबाट जम्मा पारेको खुलेको जानकारी दिए । बरामद खैरो हिरोइन करिब ८ लाखा बढीको छ। प्रहरीका अनुसार प्रतिग्राम ४ देखि ५ हजारमा खरिद बिक्री हुन्छ। यस्तै बरियारपट्टी गाउपालिका–३ बाट खैरो हिरोइनसहित पक्राउ परेका थप दुई जनालाई पनि सिरहा प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका– २ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज राई छन् । उनीहरुबाट ७१० मिलिग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ। यस्तै १६ लाख ३८ हजार ३७० रुपैयाँसहित पक्राउ परेका हुण्डी कारोबारीलाई पनि सार्वजनिक गरिएको छ । प्रहरीका अनुसार सिरहा नगरपालिका– २ बाट वडा नम्बर १७ का सञ्जय कारक पक्राउ परेका छन्।