गौतम बुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विश्वमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको सन्दर्भमा भगवान गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
भगवान् गौतम बुद्धको जन्म जयन्तीको अवसरमा आज शुभकामना व्यक्त गर्दै भगवान गौतम बुद्धले विश्वलाई दिएको अकाट्य सन्देशले सामाजिक र राजनीतिक क्षेत्रमा देखिने विसङ्गति र विकृतिको अन्त्य गर्ने मूलमन्त्र भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘यसलाई सबैले अङ्गिकार गर्दै दृढ संकल्पका साथ अघि बढ्न सक्नु पर्दछ, बौद्ध धर्मावलम्बीले बौद्ध विहार र गुम्बाहरुमा भेला भई सामूहिक उपासना गरी यो जयन्ती मनाउनुले ‘सामूहिकतामा एकता, हाम्रो विशेषता’लाई जीवन्त राख्न सघाउँदछ।’
बुद्ध जयन्ती मानव जीवनमा शान्ति, अहिंसा, प्रेम र आत्मजागरणको महत्त्व दर्शाउने अवसर भएको उनको भनाइ छ। उनले भनेका छन्, ‘वर्तमान विश्वमा द्वन्द्व, तनाव, हिंसा र असमानता व्याप्त रहेको अवस्थामा बुद्धका उपदेशहरुबाट मैत्री, करुणा, शान्ति, अहिंसाको मार्गमा हिड्न सहयोग पुग्न सक्छ, गौतमबुद्धको मध्यम मार्ग र अष्टाङ्गिक मार्गको सिद्धान्तले सबैलाई सत्य, नैतिकता र सन्तुलित जीवनको बाटो देखाउँदछ।’
यो जयन्ती मनाउनुको उद्देश्य आत्मनिरीक्षण गर्न, अज्ञानताको अन्धकार हटाउन र समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्नु पनि भएको उपराष्ट्रपति यादवको भनाइ छ। उपराष्ट्रपति यादवले आजकै दिन स्वाँया पुन्ही, उभौली पर्व, चण्डी पूर्णिमा र गोरखनाथ जयन्ती मनाउने सम्पूर्ण नेपालीलाई पनि शुभकामना व्यक्त गरेका छन् ।