युद्धविरामपछि पाकिस्तानमा मिठाइ बाँडेर खुशीयाली


२०८२ बैशाख २७ शनिबार २३:४१ बजे
तस्वीर : एजेन्सी

काठमाडौं । भारत र पाकिस्तानबीच जारी सैन्य तनाव र घातक हवाई, मिसाइल, ड्रोन तथा तोप हमलापछि शनिबार पूर्ण र तत्काल युद्धविरामको घोषणासँगै पाकिस्तानमा उत्सवको माहोल छाएको छ । मुल्तानका सडकहरूमा हजारौं सर्वसाधारणले विजय चिह्न देखाउँदै ट्यांकमाथि चढेर खुशीयाली मनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविरामको घोषणा गर्दै दुवै देशलाई ‘विवेक र बुद्धिमत्तापूर्ण निर्णय’ गरेकोमा बधाई दिएका थिए । ‘मध्यस्थतापूर्ण वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन् । दुवै देशलाई बधाई’, ट्रम्पले सामाजिक सञ्जालमा भनेका थिए ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले युद्धविराम तत्काल लागू हुने पुष्टि गर्दै भने, ‘पाकिस्तान सधैं क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रतिबद्ध छ, तर आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता गर्दैन ।’ भारतका विदेश सचिव विक्रम मिश्रीले पनि युद्धविरामको पुष्टि गर्दै शनिबार दिउँसो ३ः३५ बजे पाकिस्तानका सैन्य सञ्चालन महानिर्देशक (डीजीएमओ) ले भारतीय डीजीएमओसँग सम्पर्क गरी साँझ ५ बजेदेखि स्थल, समुद्र र आकाशमा सम्पूर्ण सैन्य कारबाही रोक्ने सहमति भएको जानकारी दिए ।

दुवै देशका डीजीएमओबीच मे १२ मा पुनः वार्ता हुने तय भएको छ । मुल्तानमा उत्सव मनाइरहेका स्थानीयले शान्तिको सन्देश बोकेर सडकमा निस्किएको बताए । ‘हामी युद्ध होइन, शान्ति चाहन्छौं। यो युद्धविरामले हामीलाई नयाँ आशा दिएको छ’, एक स्थानीयले भने । साउदी अरब र टर्कीले पनि यो सम्झौतामा मध्यस्थताको भूमिका खेलेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । यसअघि, जम्मु र कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएपछि दुवै देशबीच तनाव चर्किएको थियो ।

भारतले ‘अपरेशन सिन्दूर’ मार्फत पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा कारबाही गरेको दाबी गरेको थियो । जबकि पाकिस्तानले उक्त हमलामा आफ्नो संलग्नता अस्वीकार गर्दै प्रतिशोधमा मिसाइल हमला गरेको थियो।पाकिस्तानले युद्धविरामपछि आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा खुला गरेको छ । मुल्तानलगायतका सहरमा सर्वसाधारणले मिठाइ बाँड्दै सडकमा नाचगान र विजय चिह्नसहित शान्तिको उत्सव मनाइरहेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७