युद्धविराम घोषणाले सीमा क्षेत्रमा खुशीयाली, पाकिस्तानले खोल्यो हवाई मार्ग


२०८२ बैशाख २७ शनिबार २२:२५ बजे
फाइल फोटो

काठमाडौं । भारत र पाकिस्तान बिनाशकारी युद्धको संघारबाट फर्किएपछि सीमा क्षेत्रमा खुशी छाएको छ। कराँचीबाट अलजजिराका रिपोर्टर फारस घानीले बताएका अनुसार, युद्धविरामको घोषणालाई पाकिस्तानको दक्षिणी शहरमा स्वागत गरिएको छ ।

एक स्थानीय चिया पसलमा टीभीतिर टोलाउँदै बसेका अब्दुल शाहिदले भने, ‘अल्लाहलाई धन्यवाद छ । होस अझै बाँकी रहेछ ।’ उनले अगाडि थपे, ‘दुवै पक्षले आफ्नो शक्ति देखाउन खोजे, राष्ट्रिय सुरक्षाको सन्देश दिए, र कश्मीरबारे कडा संकेत पठाए ।’ उनको भनाइमा, पाकिस्तान यो टकरावबाट ‘अझ बलियो रुपमा बाहिरिएको’ देखियो, तर युद्ध दुवैका लागि निरर्थक हुने थियो ।

अब सबैको ध्यान यो युद्धविरामपछि के हुन्छ भन्नेमा केन्द्रित हुनेछ । वरिष्ठ पत्रकार तलत हुसैनले भने, ‘नियन्त्रण रेखामा अब शान्ति फर्किने अपेक्षा छ । तर अब सेना हटाउने, तनाव घटाउने र गम्भीर कूटनीतिक संवाद सुरु गर्ने बेला हो ।’ उनले इण्डस वाटर ट्रीटी, पहलगाम हमला, र पाकिस्तानको संलग्नताबारे भारतको दाबी जस्ता विषयलाई पनि संवादको एजेन्डामा ल्याउनुपर्ने बताएका छन् ।

यसैबीच, भारत–प्रशासित कश्मीर सरकारले पाकिस्तानतर्फबाट भएको गोलाबारीका कारण ज्यान गुमाउने व्यक्तिहरूका परिवारलाई प्रत्येकलाई एक लाख रुपैयाँ ११ हजार ७ सय अमेरिकी डलर बराबर रकम उपलब्ध गराउने घोषणा गरेको छ । यो सहयोगलाई ‘समर्थन र ऐक्यबद्धताको प्रतीक’ का रूपमा प्रस्तुत गरिएको छ।

त्यहाँका मुख्यमन्त्री उमर अब्दुल्लाहले एक्समा लेखेका छन्, ‘पाकिस्तानबाट भएको पछिल्लो गोलाबारीका कारण निर्दोष मानिसहरूको ज्यान गएकोमा म गहिरो पीडित छु । हाम्रो सरकारले जनताको पीडा घटाउन सकिने सबै प्रयास गरिरहेको छ ।’ यसैबीच भारतसँग युद्धविराम भएको घोषणापछि पाकिस्तानले आज (शनिबार) आफ्नो हवाईमार्ग पुनः खुला गरेको छ ।

पाकिस्तान एयरपोट्र्स अथोरिटीले यसबारे जानकारी दिएको हो। ‘पाकिस्तानको हवाई मार्ग सबै प्रकारका उडानका लागि पूर्ण रूपमा खोलिएको छ’,’ पिएएद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका थिए। यस्तै युद्धका कारण भारतले आफ्ना दुई दर्जन विमानस्थल बन्द गरेको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७