दुई तिहाइको सरकार भिजेको बिरालो जस्तो बन्यो : प्रचण्ड

पाँचथर । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र एमालेको वैशाखी टेकेर सरकारमा नजाने बताएका छन् । पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी सरकार ढाल्ने खेलमा समेत नलाग्ने बताए ।
उनले भने, ‘हामी बुर्जुवाहरूको वैशाखी टेकेर सरकारमा जाँदैनौ । हामी आफ्नै बलबुत्तामा उत्पीडितहरूको साथ लिएर ६४ मा जस्तै सरकारको नेतृत्व लिन्छौ ।’ उनले सरकारबाट माओवादी हटेपछि जनताले माओवादीलाई साथ दिएको दाबी गरे । उनले माओवादीको लहर आएको स्ववियू निर्वाचनबाटै देखिएको र ८४ सम्म पुग्दा माओवादी पहिलो पाटी हुने दाबी गरे । उनले वर्तमान सरकार बिचौलियाहरुले बनाई दिएको आरोप लगाएका छन् ।
अध्यक्ष प्रचण्डले भने, ‘यो सरकार ढल्यो भने आफ्नै कुकर्मका कारण ढल्छ अरू कसैले ढाल्न पर्दैन।’ उनले यो सरकारले नराम्रो भन्दा अरू कुनै काम नगरेको आरोप लगाएका छन् । उनले भने, ‘यो सरकारले नराम्रो जति सबै काम गर्यो, राम्रो भन्ने एउटा पनि गरेन ।’ अध्यक्ष प्रचण्डले यो सरकार को रुझेको बिरालोको हालत भएको बताए । उनले भने, ‘सरकार दुई तिहाइको छ तर मनमा डर बोकेर बसेको छ । यो सरकार डरले भिजेको बिरालो भएको छ ।’