गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी


०५:०४ बजे

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् । उनले राजनीतिक दलहरु सच्चिएर जनताकहाँ पुग्नुपर्ने उल्लेख गर्दै नेपालमा गणतन्त्र निर्विकल्प भएको बताए ।

‘प्रतिगामी खतराविरुद्ध संघर्ष गरौं, गणतन्त्रको रक्षा गरौं’ नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष  केसीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध हुन आवश्यक रहेको बताए । उनले नेपालका पार्टीका आ–आफ्नै विचार तथा सिद्धान्त भए पनि राष्ट्रियता नै जोखिममा पर्दा एकजुट हुन आवश्यक रहेको बताए । 

‘सबै मिलेर पञ्चायत फालियो, राजतन्त्र फालियो, अहिले गणतन्त्रका विषयमा राजावादीले भ्रम सिर्जना गरे, एक पटक लोकतन्त्र र गणतन्त्रका लागि सबै राजनीतिक दल एकजुट बनौं’, अध्यक्ष केसीले भने, ‘राजावादीको तीनकुने आन्दोलन अराजकताको पराकाष्टा हो, न्यायिक छानबिन हुनुपर्छ, राजावादीहरु सल्बलाउन थाले, सबै दल मिलेर लोकतन्त्रका पक्षमा जुटौँ ।’ 

संघीयता खर्चिलो भएको उल्लेख गर्दै अध्यक्ष केसीले यसलाई नेपालको अर्थतन्त्रले नथेग्ने बताए । उनले लोकतन्त्र र गणतन्त्र आएकै कारण बोल्न पाइएको स्मरण गर्दै राजतन्त्र फर्काउने कुरा सम्भव नभएको बताए । अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्र रहेमा मात्रै जनताले आवाज उठाउन सक्ने बताए । ‘नेता मात्रै हैन जनता समेत सचेत हुन आवश्यक छ, भ्रष्टचार मौलाएका कारण विकास भएन, जनताले सही जनप्रतिनिधि चुन्न सकेनन्’, अध्यक्ष केसीले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७