बलात्कार आरोपित पूर्व मेयर प्रहरी कार्यालय नै नटेकी रिहा 


०२:२० बजे
फाइल फोटो

झापा । बलात्कार आरोपित झापा विर्तामोड नगरपालिकाका पूर्व प्रमुख (मेयर) ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्न आदेश गरेको छ । गत मंसिर २४ गते पक्राउ परे लगत्तै उनी स्वास्थ्यको कारण देखाउँदै अस्पतालमा भर्ना भएका थिए ।

इलाम इजलासमा न्यायाधीश किरणकुमार पोखरेल र रेखा पाण्डे थापाको संयुक्त इजलासले बिहीबार २० लाख धरौटीमा शिवाकोटीलाई रिहा गर्ने आदेश दिएको हो । आदेशसँगै उनी आइतबार थुनामुक्त हुने भएका छन् । यो आदेशपछि न्याय पाउने आशामा बसेका पीडित पक्ष निरास बनेका छन् ।

२०७४ सालमा एमालेबाट विर्तामोड नगर प्रमुखमा निर्वाचित भएका शिवाकोटीलाई प्रहरीले गत मंसिर २४ गते पक्राउ गरेको थियो । उनले घरमा काम गर्न राखिएकी १५ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो । ती बालिकालाई काँकडभिट्टाबाट उद्धार भएपछि आफन्त नेपाल जस्ता चेलीबेटी बेचबिखनविरुद्ध काम गर्ने संस्थाहरूको पहलमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

तर, उनी पक्राउ परेकै दिनदेखि अस्पताल भर्ना भएका हुन् । प्रहरीले करिब महिना दिन लगाएर अनुसन्धान गर्दा उनले एक दिन पनि प्रहरी कार्यालय टेक्नु परेन । प्रहरी अस्पताल नै पुग्यो । त्यही बयान लियो ।

गत पुस २२ मा जिल्ला अदालत झापाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो । तर, उनी जेल पनि जानु परेन। शिवाकोटीले पक्राउ परेको दिनदेखि हालसम्म करिब पाँच महिना बीएण्डसी अस्पतालमै भीआईपी क्याविनमा बिताए। अदालतको ‘स्वास्थ्य अवस्था ख्याल गर्नुपर्ने’ भन्ने आदेशको आधारमा उनी कारागार छिर्नै परेन।

पटक–पटकको बलात्कार सहन नसकेपछि उनी घर छोडेर भारत हिँडेकी थिइन् । भारतको असममा उनकी आमा छिन्। आमा भेट्न भनी क्याम्पसको पोसाकमै सीमा तर्न लाग्दा आफन्त नेपालका कार्यकर्ताहरुले उनलाई सोधपुछ गरेका थिए । सोधपुछमा उनले दिएको बयानका आधारमा पूर्वमेयर शिवाकोटी पक्राउ परेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७