प्रचण्डसँग भाजपा नेता कोश्यारीको भेटवार्ता

काठमाडौं । भारतीय सत्तारुढ पार्टी भाजपाका नेता भगतसिंह कोश्यारीले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।
उनी बिहीबार प्रचण्ड निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन् । मंगलबार राति ललितपुरको एक रिसोर्टको शौचालयमा लडेर घाइते भएयता प्रचण्डको यो पहिलो सार्वजनिक भेटघाट हो । भारतको महाराष्ट्र राज्यका पूर्वराज्यपाल रहेका कोश्यारी नेपालसम्बन्धी जानकार नेता मानिन्छन् । उनी नेपाल–भारत सीमा लगायत सम्पूर्ण विषयमा सुझाव दिन गठित नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को भारतका संयोजक थिए ।
कोश्यारी उत्तराखण्डका पूर्व मुख्यमन्त्री पनि हुन् । केही दिनअघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका थिए । उनले प्रचण्डसहित दुई दर्जन बढी नेपालका नेताहरुसँग भेटघाट गरेका थिए ।