तीनकुने घटनामा पक्राउ परेका थप ३६ जना रिहा

काठमाडौं । काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थप ३६ छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले हिरासतमा राखेर अनुसन्धान गरिरहेका विभिन्न कसुरका आरोपितलाई हाजिरी जमानीमा रिहा गरिएको हो ।
उनीहरुविरुद्ध मुद्दा दायर गरिने भए पनि अहिललाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्ने गरी छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। आपराधिक उपद्रवमा अनुसन्धान भइरहेका ३४ जना र राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेका दुई जना छाडिएको हो । अब यी दुई कसुरमा ५२ जना हिरासतमा छन् ।
राज्यविरुद्धको कसुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र चैत १५ गतेको प्रदर्शनमा नेतृत्व गरेका दुर्गा प्रसाईसहित छन् । उनीहरुलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले बिहीबार अनुमति दिएको छ । आपराधिक उपद्रवमा भने थप ७ दिन हिरासतमा राख्न बिहीबार नै म्याद थप भएको छ ।
आपराधिक उपद्रवमा अनुसन्धान भइरहेका २१ जनालाई पहिल्यै रिहा गरिएको थियो । राज्यविरुद्धको कसुरमा भने राप्रपाका महामन्त्री समेत रहेका धवलशमशेर राणा पहिल्यै छुटेका छन्। उनलाई स्वास्थ्य उपचारका लागि रिहा गरिएको थियो । रिहा भएपछि राणा भारतमा उपचार गराएर फर्किएका छन्। काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो भने करोडौँ जनधनको क्षति समेत भएको थियो ।