स्वेच्छाले देश छोड्ने अवैध आप्रवासीलाई अमेरिकाले एक हजार डलर दिने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अवैध आप्रवासीलाई स्वेच्छाले देश छोड्न प्रोत्साहन गर्न नयाँ नीति घोषणा गरेको छ। यो नीतिअनुसार अमेरिकाबाट स्वेच्छाले आफ्नो मूल देश फर्कने अवैध आप्रवासीलाई एक हजार अमेरिकी डलर प्रदान गरिनेछ ।
अमेरिकी होमल्यान्ड सेक्युरिटी विभाग (डीएचएस) ले आप्रवासीलाई यो सुविधा प्राप्त गर्न सीबीपी होम एपमार्फत सरकारलाई आफ्नो फिर्तीबारे जानकारी गराउन अनुरोध गरेको छ । फिर्तीको पुष्टि भएपछि उक्त रकम प्रदान गरिनेछ । डीएचएसका अनुसार यो योजनामा संलग्न हुनेलाई यात्रा सहायता रकम उपलब्ध गराइनेछ । साथै हिरासत वा निष्कासन जान सक्ने खतराबाट मुक्त हुनेछन् ।
डीएचएसले यो नीतिले निष्कासन खर्च घटाउने दाबी गरेको छ । विभागका अनुसार एक व्यक्तिलाई निष्कासन गर्न औसतमा १७ हजार डलरभन्दा बढी खर्च हुन्छ । यो योजना ट्रम्पको व्यापक निष्कासन अभियानको हिस्सा हो। तर विज्ञहरूले यो नीतिप्रति चिन्ता पनि व्यक्त गरिरहेका छन् । केही आप्रवासीसँग अमेरिकामा बस्ने कानुनी अधिकार भए पनि कानुनी सल्लाहको अभावमा उनीहरूले अनावश्यक रूपमा देश छोड्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । यो नीतिको लाभ नेपाली आप्रवासी समुदायले पनि उठाउन सक्ने छन् । एजेन्सी