रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले संसदमा जवाफ दिने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको पक्राउबारे गृहमन्त्री रमेश लेखकले संसदमा जानकारी गराउने भएका छन्। आज (मंगलबार) प्रतिनिधि सभामा नाउपाका सांसदहरूले रेशम चौधरीको पक्राउबारे सरकारको जवाफ मागेर अवरोध गर्न खोजेका थिए । सभामुखले रुलिङ गर्नुपर्ने उनीहरूको माग थियो ।
त्यसक्रममा सभामुख देवराज घिमिरेले रेशम चौधरीको पक्राउबारे गृहमन्त्रीले संसदमा जवाफ दिने जानकारी गराए । उनका अनुसार आगामी बिहीबार गृहमन्त्री लेखकले जानकारी दिनेछन् । यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए । तर, सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी रहेको थाहा लागेपछि रेशम चौधरी छुटेका थिए । त्यसक्रममा रशेम चौधरीले ५ घण्टा डिल्लीबजार कारागारमा बिताएका थिए ।