राज्यमन्त्रीलाई स्वागत गर्दै उर्जामन्त्री खड्काले भने–उहाँको योगदान अमूल्य रहनेछ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नव नियुक्त राज्यमन्त्री खमबहादुर गर्बुजालाई मन्त्रालयमा स्वागत गरेका छन् । आज (आइतबार) मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री खड्काले सहकार्य, पारदर्शिता र जवाफदेहिताका आधारमा मन्त्रालयको कार्य सम्पादनलाई परिणाममुखी बनाउने दृढ संकल्प व्यक्त गरेका छन् ।
मन्त्री खड्काले राज्यमन्त्री गर्बुजाको अनुभव र क्षमता ऊर्जा सुरक्षा सुदृढीकरण, जलस्रोतको दिगो उपयोग र सिँचाइ सुविधा विस्तारमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । ‘मन्त्रालयको कार्यक्षेत्रलाई थप प्रभावकारी बनाउन उहाँको योगदान अमूल्य हुनेछ’, मन्त्री खड्काले भने । उनले राज्यमन्त्रीलाई सफल कार्यकालको शुभकामना पनि दिए ।
नव नियुक्त राज्यमन्त्री गर्बुजाले आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा वैशाख १७ गते गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।