मधेश भवनमा सहिद परिवारको धर्ना


१६:३३ बजे

जनकपुरधाम । मधेश भवनमा सहिद परिवारका सदस्यहरुले धर्ना दिएका छन् । सहिद परिवारलाई रोजगारी दिनुपर्ने लगायतका मागसहित आज (आइतबार) मधेश भवनभित्र रहेको गृह तथा सञ्चार मन्त्रालय अगाडि उनीहरुले धर्ना दिएका हुन् । बाराका सहिद चन्दन पट्टेलका बुबा अवधेशप्रसाद पट्टेलले मधेशी सहिद प्रतिष्ठानको रिक्त पदमा सदस्य नियुक्त गर्नुपर्ने, हरेक सहिद परिवारलाई रोजगारी दिनुपर्ने र सबैको स्वास्थ्य बिमा हुनुपर्ने माग राखेर धर्ना दिएको जानकारी दिए ।

उनका अनुसार प्रतिष्ठानमा गत फागुनमै दुई सदस्य पद रिक्त भएका थिए । तर, मधेश प्रदेश सरकारले हालसम्म सदस्य नियुक्त गर्न चासो नदेखाएको उनले बताएका छन्। ‘सदस्य पदको नियुक्तिका लागि निवेदन पनि दर्ता गराएका छौं । मुख्यमन्त्री र मन्त्रीसँग भेटघाट गर्दा एक हप्ताको समय माग्नु भएको थियो,’ उनले भने, ‘तर आज पनि चासो लिनु भएको छैन । अब त भेट्न पनि मान्नु हुन्न ।’ मुख्यमन्त्री सतिशकुमार सिंह र गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले सहिद परिवारको मागलाई बेवास्ता गरेको उनको भनाइ छ ।

विगतको सरकारले एक सहिद परिवार, एक रोजगार कार्यक्रममार्फत रोजगारी दिए पनि वर्तमान सरकारले हटाउने प्रक्रिया अगाडि बढाइरहेको सहिद परिवारको गुनासो छ । अधिकांश सदस्यलाई मासिक तलबबाट हटाएर दैनिक ज्यालादारीमा राखेको पट्टेलले बताए । हालसम्म स्वास्थ्य बिमा पनि अगाडि नबढाएको उनले सुनाए । प्रतिष्ठानका सदस्य रामनरेश राय मधेश भवनभित्रै मृत फेला परे पनि आफूहरुलाई कुनै स्पष्ट जानकारी सरकारतर्फ बाट नदिएको उनले बताए । मन्त्री राजकुमार लेखीले सबै माग प्रक्रियामा रहेको र केही समय लाग्ने प्रतिक्रिया दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७