परराष्ट्रमन्त्रीको आग्रह : एनआरएनएभित्र राजनीति नगरिदिनुस्

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छिन् । आज (शनिबार) काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको बताइन् ।
एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने उनको भनाइ थियो । ‘यहाँ आएर राजनीति नगरिदिनुस् । यहाँ आएर देशलाई समृद्ध बनाउन तपाईहरुले सहयोग गरिदिनुस्,’ उनले भनिन् । राजनीति गर्नेलाई समृद्धि कसरी ल्याउन सकिन्छ ? भन्ने कुरा राम्रोसँग जानकारी नहुने भन्दै विदेशमा देखेका र भोगेका कुरालाई नेपालमा आएर परिणाम दिन सकिने उनको भनाइ छ ।
‘हामी राजनीति गर्नेलाई त्यत्ति धेरै समृद्धि कसरी गर्ने भनेर थाहा छैन,’ परराष्ट्रमन्त्री राणाले भनिन्, ‘तपाईहरू त कहीँ लेभर गरेर पनि गर्नु भएको छ । एउटै जेनेरेशनभित्र तपाईहरूले कति ठूलो फड्को मारेर आफ्नो सन्तान, समाज, गाउँ, समुदायलाई अगाडि बढाउनु भएको छ ।’ परराष्ट्रमन्त्री डा. राणाले गैरआवासीय नेपालीहरू आफ्नो परिवार, समाज, गाउँ र समुदाय विकास गर्ने महत्वपूर्ण माध्यम रहेको बताइन् ।