एमालेसँग मिल्नु वाध्यता, सरकारले सुशासन दिन सकेन : शेखर कोइराला

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले बाध्यतामा एमालेसँग मिल्नु परेको बताएका छन् । प्रेस युनियन नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले दुई दुई महिनामै सरकार परिवर्तन हुन थालेपछि एमालेसँग मिल्न बाध्य भएको बताएका हुन् ।
उनले भने, ‘अहिले सरकारको नेतृत्व कांग्रेसले लिएको छैन । एमालेका अध्यक्ष ओलीजीले लिनु भएको छ । सात बुँदे सहमति भनेको छ । संविधानमा परिमार्जन गर्ने भनिएको छ, दण्डहीनताको अन्त्य र सुशासन दिने, डेलिभरी राम्ररी दिने भनेको छ । सधैँ देशको आर्थिक अवस्थामा सुधार गर्ने भनिएको छ ।’
पहिलो, तेस्रो, चौथो पार्टी मिलेर सरकार बनाउने र दोस्रो पार्टी सधैँ विपक्षमा बस्ने गरेको अभ्यास दुई ठूला पार्टी मिलेको बताए । गभर्नरको म्याद सकिएको दुई महिना भइसक्दा पनि नयाँ गभर्नर नियुक्ति नगरेर संविधान मिच्ने काम गरेको आरोप लगाए । यो सरकारले सुशासन दिन नसकेको उनको भनाई थियो ।