सरकारको नीति तथा कार्यक्रम : संविधान संशोधनको प्रक्रिया अघि बढाउने
जेन्जी पुस्तालाई प्राथमकितासहित स्टार्टअप कार्यक्रम सुरू गरिने

काठमाडौं । सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) संघीय संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा संविधानको समीक्षा गर्ने र कमजोरीलाईलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ । ‘संविधानको समीक्षा गर्ने, यसका सवल पक्षलाई सुदृढ गर्ने,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने ।’
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेत्वमा सरकार बनाउँदा भएको ७ बुँदे सहमतिमा संविधान संशोधनको काम अघि बढाउने उल्लेख गरिएको थियो । तर, सरकार बनेको लामो समयसम्म पनि यसमा काम नगरेको भन्दै सरकारको आलोचना भइरहेको थियो । त्यस्तै नीति तथा कार्यक्रममा संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण गर्ने र यसविरुद्धका गतिविधिको प्रतिवाद गर्ने समेत उल्लेख गरिएको छ । ‘संविधान र संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरण गर्ने,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘यसका विरुद्धमा हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुर्नउत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने ।’
जेन्जी पुस्तालाई प्राथमकितासहित स्टार्टअप कार्यक्रम सुरू गरिने
राष्ट्रपति रामचन्द्र पौडेलले जेन्जी पुस्तालाई प्राथमिकता दिने बताएका छन् । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले स्टार्टप कार्यक्रमका लागि जेन्जी पुस्तालाई प्राथमिकता दिने बताएका हुन्। उनले अराजकता फैलाउनेविरुद्ध सरकार दृढ रहेको र गणतन्त्रविरुद्धका प्रतिक्रियालाई कडा प्रतिवाद गरिने बताए। त्यस्तै राष्ट्रपति पौडेलले संविधानको समीक्षा गरी आवश्यक संशोधन गरिने बताए । त्यसका लागि आपसी समझदारीसहित संविधानमा रहेका कमी कमजोरी सच्याउने उनको भनाइ छ।