केआईआईटीमा फेरि अर्की नेपाली विद्यार्थी पनि मृत भेटिइन्

काठमाडौं । किङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत फेरि अर्की एक नेपाली छात्रा पनि मृत अवस्थामा फेला परेकी छिन् । भुवनेश्वर–कटक प्रहरी आयुक्त एस. देव दत्ता सिंहका अनुसार उक्त छात्राको शव विश्वविद्यालयकै छात्रावासको कोठामा फेला परेको हो ।
बिहीबार अपराह्न एक नेपाली विद्यार्थी कलेजको होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेको त्यहाँ अध्ययरत् नेपाली विद्यार्थीहरुले बताएका छन् । उनी वीरगञ्ज निवासी प्रथम वर्षमा अध्ययनरत विद्यार्थी भएको बताइएको छ । घटनाको सूचना पाउने बित्तिकै इन्फोसिटी प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरू गरेको उनले जनाए । हालसम्म मृतक छात्राको परिचय सार्वजनिक गरिएको छैन भने विश्वविद्यालय प्रशासनले पनि यस सम्बन्धमा कुनै आधिकारिक विज्ञप्ति जारी गरेको छैन ।
प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक अनुमानमा आत्महत्या गरिएको आशंका गरिएको भए पनि यकिन प्रमाण र पोस्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नसकिने प्रहरीले जनाएको छ । यही विश्विवद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल गत फागुन ४ मा छात्रावासमा मृत भेटिएकी थिइन् ।
आफूमाथि मानसिक दुव्र्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् । त्यसपछि प्रकृतिको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । कलेज प्रशासनको निर्देशनमा सुरक्षागार्डले नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट गरेका थिए भने प्रशासनले होस्टल छाडेर जान निर्देशन दिएको थियो । घटना बढ्दै जाँदा तनावको स्थिति पैदा भएको थियो ।