भोलि नै पार्टी एकता गर्न जनमत र नागरिक उन्मुक्तिका नेताहरू छलफलमा

काठमाडौं । पार्टी एकता घोषणाबारे जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी फेरि छलफलमा जुटेको छ । दुई पार्टीबीच आजै एकता गर्न तय भएको भए पनि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरिएपछि एकता कार्यक्रम स्थगित भएको थियो ।
तर, सर्वोच्च अदालतबाट पठाइएको पत्र अनाधिकृत भएको पाइएपछि रेशम आजै छुटेका छन् । रेशम छुटैसँग एकताबारे छलफल सुरु भएको हो । नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले स्थगित पार्टी एकता भोलि नै गर्नेगरी छलफलमा जुटेको जानकारी दिए । ‘भोलि नै एकता हुन्छ, अहिले हामी बानेश्वरमा यसबारे छलफलमा छौं ।’
जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले पनि एकताबारे छलफल सुरु भएको बताएका छन् । जनमत पार्टी कार्यालय नजिकैको एक घरमा भएको बैठकमा नागरिक उन्मुक्ति पार्टीबाट संरक्षक रेशमलाल चौधरी, पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरु सहभागी छन् । त्यस्तै जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान लगायतका नेताहरु सहभागी छन् । अध्यक्ष सीके राउत भने केहीबेरपछि बैठकमा सहभागी हुनेछन् ।