कैद मिनाहाबाट छुटेका रेशम चौधरी फेरि किन पक्राउ परे ?

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले राष्ट्रपतिबाट आममाफी पाए पनि अन्ततः जेल पुगेका छन् । जनमत पार्टीसँग नागरिक उन्मुक्तिको एकता घोषणाको तयारी भइरहेका बेला रेशमलाई प्रहरीले पक्राउ गरेपछि रेशमको पुनः जेल यात्रा तय भएको हो । चौधरी प्रज्ञाभवन कमलादीबाट पक्राउ परेका हुन् । उनी पार्टी एकता घोषणा सभास्थलबाटै पक्राउ परेका हुन् । प्रहरीले उनलाई डिल्लीबजार कारागार लगेको छ ।
उनी पक्राउ परेपछि कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो। ‘हामीले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गरेका हौं,’ बोहराले भने, ‘उहाँलाई नियन्त्रणमा लिएर डिल्लीबजार कारागार लगेका हौं ।’ २०७२ भदौमा टीकापुर काण्डका प्रमुख आरोपी चौधरीलाई अदालतले जन्मकैदको सजायँ सुनाएको थियो । तर राष्ट्रपतिबाट कैद मिनाहा पाएर उनी २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।
विसं. २०७२ साल भदौ ७ मा भएको टीकापुर घटनामा एक नावालक र सात प्रहरीको ज्यान गएको थियो । उक्त घटनाका मुख्य योजनाकारका रूपमा मुद्दा दायर भएका रेशमलाई कैलाली जिल्ला अदालत र उच्च अदालत धनगढीले दोषी ठहर गरी जेलमा थिए । जेलमा रहेकै बेला उनले राष्ट्रिय जनता पार्टीका तर्फबाट वारेशमार्फत उमेदवारी दर्ता गरी ०७४को संसदीय निर्वाचन कैलाली–१ बाट जितेको थिए । उनलाई जेलबाट लगि शपथ गराएर पुनः जेलमै राखिएको थियो । ०८० जेठ १४ को मन्त्रिपरिषद्को निर्णयबाट भएको सिफारिसका आधारमा जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आम माफी दिएका थिए ।
आम माफी दिने निर्णयविरुद्ध ०८० जेठ १६ गते नै टीकापुर घटनामा मारिएका प्रहरी अधिकृतकी पत्नी शारदा कडायत बोहोराले रिट दायर गरेकी थिइन् । उनले रिटमा आम माफीको निर्णय बदर गरी चौधरीलाई थुनामै राख्न माग गरेकी थिइन् । सरकारले जन्मकैद भएको मुद्दामा ५० प्रतिशत कैद भूक्तान गरेपछि मात्र माफी दिन सकिने कानुनी प्रावधानलाई उल्लंघन गर्दे आममाफी सिफारिस गरेको थियो । त्यसमा रिट समेत परेपछि सर्वोच्चकै आदेशअनुसार रेशम पुनः पक्राउ परेका हुन् । उनको पक्राउसँगै नागरिक उन्मुक्ति र जनमत पार्टीको एकता घोषणा स्थगित भएको छ ।