नाउपा र जनमतको एकता : रेशम आलंकारिक र सीके कार्यकारी, रञ्जिता सह–अध्यक्ष

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग भोलि (बुधबार) एकता घोषणा हुने बताएकी छन् । दुवै दलले एकतापछिको नाम, नेतृत्व, सचिवालय, केन्द्रीय समिति र राजनीतिक विचारधारामा समेत समझदारी जुटाइसकेका छन् ।
‘नागरिक जनमत पार्टी’ का नाममा अबको राजनीति अगाडि बढाउने गरी रेशम चौधरी र चन्द्रकान्त (सीके) राउतले सहमति गरेका हुन् । नाउपाको संरक्षक रहेका चौधरी एकतापछिको नाजपामा पनि संरक्षक नै रहने छन् । दुवै पार्टीका नेताहरूले दिएको जानकारी अनुसार संरक्षक रहने चौधरीलाई एकतापछिको पार्टीमा पहिलो वरीयता दिइएको छ । यद्यपि सो पद आलङ्कारिक हुनेछ ।
दोस्रो वरीयता भनिए पनि कार्यकारी अध्यक्षको जिम्मेवारी जनमतका राष्ट्रिय अध्यक्ष सीके राउतले पाएका छन् भने तेस्रो वरीयतामा नाउपाकी अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठ रहने छिन् । बुधबार दिउँसो काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा भव्य कार्यक्रमबीच एकता घोषणा गरिने जनमतका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए । सबैजसो विषय टुंगो लगाएर एकता घोषणाको कार्यक्रम तय गरेको उनको भनाइ छ ।
‘संरक्षकका रूपमा रेशम चौधरी, कार्यकारी अध्यक्ष डा. सीके राउत, सहअध्यक्ष माननीय रञ्जिता श्रेष्ठ रहने निर्णय भएको छ,’ उनले भने, ‘पार्टीको नाम नागरिक जनमत, र चुनाव चिन्ह ढकिया हुन्छ। सचिवालय २५ जनाको हुन्छ । दुवै पार्टीबाट १२–१२ जना रहन्छन् । त्यसमा संरक्षक एकजना रहनुहुन्छ। उपाध्यक्ष, महासचिव, सचिवसहितका पदाधिकारी राख्ने कुरा छ ।’ ‘अहिले तत्कालका लागि केन्द्रीय समिति ३५० जनाको हुनेछ, त्यसमा जनमत र नागरिक उन्मुक्ति दुवैबाट पचास–पचास प्रतिशत रहनुहुन्छ,’ प्रवक्ता यादवले भने ।
रञ्जिताले मंगलबार सामाजिक सञ्जालमार्फत उनले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतसँगको सहकार्यमा मधेश र सुदूरपश्चिमका पीडित जनताको आवाज बुलन्द गर्ने संकल्प व्यक्त गर्दै आफूले सह–अध्यक्षको भूमिका स्वीकार्ने घोषणा गरिन् ।
श्रेष्ठले यस एकतालाई दुई दलको मिलन मात्र नभई साझा पीडा र आशाको ऐतिहासिक क्षण भएको बताएकी छन्। ‘हामीले अन्याय र चोट खेपेका छौं, तर अब हाम्रो आवाज फुट्ने छैन । यो एकता सुदूरपश्चिमको पहाडदेखि मधेशको तराईसम्म जनताको आँखामा उज्यालो ल्याउने प्रयास हो’, उनले भनिन् ।
उनले डा. राउतको बौद्धिक र दूरदर्शी नेतृत्वमा जनताको पक्षमा निष्कलंक काम गर्ने विश्वास व्यक्त गरिन् । पदभन्दा जनताको भरोसा र बलिदान ठूलो भएको भन्दै सह–अध्यक्ष बन्ने निर्णयले केहीलाई भावनात्मक असर पर्न सक्ने बताउँदै उनले सबैलाई एकताको बाटोमा अघि बढ्न आग्रह गरिन् ।
एकतापछि पार्टीको नीति, विधि र अनुशासनमा बाँधिएर व्यक्तिगत स्वार्थभन्दा माथि उठी जनहितमा काम गर्नुपर्ने उनको जोड छ । श्रेष्ठले यो एकताले देशभर सन्देश फैलाउने र जनता, न्याय र समताका लागि साझा संघर्ष गर्ने बताइन् । ‘हामी फुट्ने र झुक्ने छैनौं, किनभने हामी अब एउटा सपनाका लागि एक भएका छौ’, उनले भनेकी छन् ।