पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

रुपन्देही । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतंककारी हमलामा मारिएका नेपालीसहित भारतीय र तेस्रो मुलुकका नागरिकको सम्झनामा भैरहवामा शोकसभा र दीप प्रज्वलन गरिएको छ ।
भैरहवाको बुद्धचोकमा आज साँझ नेपाल–भारतमैत्री केन्द्र, रुपन्देही नागरिक समाज र नेपाल–भारत पूर्वसैनिक परिवार कल्याण सङ्गठनको संयुक्त आयोजनामा शोकसभा र दीप प्रज्वलन गरिएको हो । प्रतिनिधिसभा सदस्य एवं पूर्व पर्यटनमन्त्री प्रेमबहादुर आलेले घटनाको जति निन्दा गरे पनि कमै हुने बताए । उनले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।
पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले जातीय, धार्मिक, सांस्कृतिक कुनै किसिमका आतंकवाद स्वीकार्य नहुने बताए। मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवाल, नागरिक समाजका अध्यक्ष अमित गुप्ता, भूपु सैनिकका अध्यक्ष रेशम केसीले आतंककवादी घटनाले आफूलाई दुःखी तुल्याएको जनाए । शोकसभा तथा दीप प्रज्वलनमा विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी व्यवसायी, स्थानीयलगायत सहभागी थिए । शोकसभापछि दीप प्रज्वलन गरेर मृतकहरूको सम्झना गरिएको थियो ।