सरकारसँगको वार्ता शिक्षकहरुले गरे अस्वीकार


१२:२२ बजे
फाइल फोटो

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले बोलाएको वार्तामा बस्न अस्वीकार गरेको छ । वार्ताका लागि सिंहदरबारमा बोलाए पनि महासंघ वार्तामा उपस्थित नभएपछि शुक्रबार शिक्षकसँग छलफल गर्ने सरकारको प्रयास समेत असफल भएको हो ।

आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरु अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको छ । आज (शुक्रबार) सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, संसदको प्रमुख सचेतक, दलका मुख्य सचेतकहरुसहितको उपस्थितिमा वार्ताको लागि आह्वान गरिएको थियो ।

डेढ घण्टा कुर्दा समेत शिक्षक महासंघ एवम शिक्षक प्रतिनिधिहरुको अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको मन्त्री भट्टाईले जानकारी दिइन् । उनले भनिन्, ‘सरकार लचिलो भएर प्रस्तुत भइरहेको छ । शिक्षकका मागहरुलाई दृढताकासाथ सम्बोधन गरेर अगाडि बढिरहेको छ । मन्त्रालय मात्र नभइ सिंगो सरकार, संसदको प्रमुख सचेतक, दलका मुख्य सचेतकहरुसहितको उपस्थितिमा आह्वान गरेको थियौँ तर उहाँहरु आउनु भएन । औपचारिक खबर पनि आएन । करिब डेढ घण्टा पर्खेका हौँ । उहाँहरु नआएपछि आजको बैठक स्थगित गराएका छौँ ।’ उनले शिक्षक महासंघ, शिक्षक प्रतिनिधिहरु सबैलाई आफैले फोन गरेर साथै मन्त्रालयबाट औपचारिक रुपमा पत्रचार समेत गर्दा पनि वार्तामा उपस्थित नभएको बताइन् ।

‘मैले शिक्षक महासंघ, शिक्षक प्रतिनिधिहरु सबैलाई आफैंले फोन गरें र आमन्त्रण गरें । उहाँहरुलाई फोन गरेर आमन्त्रण गरेपछि अनौपचारिक भयो भनेर हामीले मन्त्रालयको तर्फबाट एउटा पत्र पठायौं । सबैलाई तीन बजे उपस्थित हुन भनेका हौँ । वार्ताका लागि मन्त्रालय सधै खुला छ भनेर सार्वजनिक आह्वान पनि गर्‍यौँ ।’ 

यता महासंघले भने विद्यालय शिक्षा विधेयकलाई छिटो अघि बढाउने एकमात्र मुद्दा रहेकाले वार्तामा बस्न आवश्यक नरहेको जनाएको छ । महासंघले वार्ताभन्दा पनि ऐनलाई अघि बढाउन सरकारलाई सुझाव दिएको छ । विद्यालय शिक्षा विधेयकलाई छिटो निष्कर्षमा पुर्‍याउनु पर्ने भन्दै देशभरका शिक्षक काठमाडौंमा भेला भएर आन्दोलन गरिरहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७