नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौं : प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले ठूलो प्राथमिकता दिएको बताएका छन् । उनले थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ता फलदायी रहेको बताए ।
‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरु विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरुमा छलफल गर्यौं’, सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले भनेका छन् ।
उनले यस वर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरु विशेष गरी विपद् व्यवस्थापन र समुन्द्री यातायातका क्षेत्रहरुमा पनि कुरा गरेको बताए । प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी मोदीबीच आज अपराह्न करिब ४५ मिनेट एक्ला–एक्लै भेटवार्ता भएको थियो ।