नारायणघाट– बुटवल सडक : अहिलेसम्म कति भयो भौतिक प्रगति ?

कालीगण्डकी कोरिडोर : नौं किलोमिटर कालोपत्र


२०८१ चैत ८ शुक्रबार १२:४६ बजे

नवलपरासी । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत ६५ किलोमिटर पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र भएको छ ।

नारायणघाट बुटवल सडक आयोजना (पूर्वखण्ड) कार्यालयका अनुसार हालसम्म यो बाटोमा  ५८ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ । गैंडाकोटतर्फ १६ किलोमिटर कालोपत्र पूरा गरी देवचुली नगरपालिकामा धमाधम कालोपत्र भइरहेको छ । यो खण्डमा २२ वटा साना पुल निर्माण भएका छन् । 

निर्माण पूरा भएका पुलमा लिङ्करोड निर्माण पूरा  नभएकाले पुलबाट यातायातका साधन सञ्चालन हुन समय लाग्ने उक्त कार्यालयका सूचना अधिकारी शिव खनालले बताए । विनयी खोलाको पुल आगामी मनसुन अगाडि नै पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको छ । केही हप्ता अगाडि अत्यधिक भारवहन गरेको ट्रकका कारण पुलमा क्षति भएपछि पथान्तरण गरेर सवारीसाधन सञ्चालन भएका छन् ।

सडक विस्तारको ठेक्का पाएको निर्माण कम्पनी चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङका सहव्यवस्थापक राकेश झाले ४२ ठाउँमा सडक विस्तार जारी रहेको बताए । ‘हामीले सडक विस्तारसँगै पुल निर्माणमा जनशक्ति केन्द्रित गरेका छौं’, उनले भने, ‘सडक कालोपत्र र पुल निर्माणसँगै कल्भर्ट, सब बेस, बेस, फिलिङ, ड्रेनेज, ग्याबीनलगायत ६५० भन्दा बढी कामदार परिचालन गरेर काम गरिरहेका छौँ ।’ आगामी वैशाखभित्रमा दुम्कीबाससम्म  कालोपत्र गरिसक्ने लक्ष्य छ । ‘दाउन्नेमा पूर्वीखण्डमा पर्ने सबैभन्दा कठिन ठाउँको डाँडाको भित्तो कटान पूरा भएको छ’, उनले भने । 

कालीगण्डकी कोरिडोर : नौं किलोमिटर कालोपत्र
यता बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नौ किलोमिटर भुरुङ–तातोपानी– घाँसा खण्ड कालोपत्र भएको छ। आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको सडक स्तरोन्नति सम्पन्न हुने चरणमा पुगेको छ । अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले अन्नपूर्ण गाउँपालिका–२ तातोपानीस्थित नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोलासम्म पहिरो र कटानको जोखिम भएको बाहेकका ठाउँमा ढलानसँगै कालोपत्र भएको बताए । विसं २०६४ मा खुलेको यो सडकलाई ११ मिटर फराकिलो बनाएर कुना र डिलतर्फ टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, ग्रेड तथा मोड सुधार गरिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७