उपत्यकाको यातायात अस्तव्यस्त, तीनकुने–बानेश्वर सडकमा कडाइ


२०८१ चैत १५ शुक्रबार १०:४९ बजे

काठमाडौं । राजावादी र समाजवादी मोर्चाको प्रदर्शनका कारण आज (शुक्रबार) बिहानैदेखि काठमाडौँ उपत्यकाको यातायात प्रभावित भएको छ । दुवै पक्षको र्‍याली र सभाका कारण काठमाडौँका मुख्य सडकमा यातायात आवागमन अस्तव्यस्त भएको हो । तीनकुनेदेखि नयाँ बानेश्वर क्षेत्रको सडकको मुख्य लेन बन्द गरिएको छ । दुई पक्षको प्रदर्शनका क्रममा हुनसक्ने अप्रिय घटना रोक्नका लागि प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

सर्वसाधारणलाई साइड लेनबाट हिँड्न दिइएको छ । भने शंकास्पद गाडीहरुलाई चेकिङ गरेर मात्रै पठाइएको छ ।समाजवादी मोर्चा नेपालले काठमाडौँको प्रदर्शनीमार्गमा बनाएको मञ्चका कारण सो क्षेत्रमा बिहानैदेखि सवारी साधनहरू आवतजावतमा रोक लगाइएको छ । रत्नपार्कदेखि भद्रकालीसम्म र प्रदर्शनीमार्ग, भृकुटीमण्डपको सडक पूर्ण रूपमा बन्द गरिएको छ । त्यस्तै काठमाडौँको तीनकुने, बानेश्वर, माइतीघर लगायतका क्षेत्रमा यातायात अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रको यातायात प्रभावित भएपछि सवारी साधनलाई डाइभर्सन गरिएको छ । जसका कारण अन्य क्षेत्रमा सवारी जाम भएको ट्राफिक प्रहरीले जनाएको छ । दिउँसोबाट काठमाडौँको तीनकुनेमा राजावादीहरूले र भृकुटीमण्डपमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रदर्शन गर्न लागेका हुन् ।

दुवै पक्षधरले एकअर्काविरुद्ध प्रदर्शन गर्दैछन् । आन्दोलनका लागि तयारी जारी राखेका छन् । अधिकांश स्थानमा प्रहरी चेकिङ मजबुत बनाइएको छ । त्रिपुरेश्वरदेखि नै रत्नपार्कतिर जाने सडक बिहानैदेखि बन्द गरिएको छ भने अन्य स्थानमा नागरिकको सुरक्षार्थ प्रहरीले सुरक्षा मजबुत बनाएको छ । आजको जनप्रदर्शनमा समाजवादी मोर्चाले १ लाख बढी मानिसहरू उतार्ने दाबी गरेको छ । आजको जुलुसलाई दुवै पक्षले शक्ति प्रदर्शनको रूपमा लिएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७