संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी


२०८१ चैत ३ आइतबार १६:५९ बजे

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी गरेको छ । संसदको हिउँदे अधिवेशन चैत तेस्रो साता अन्त्य गर्ने तयारी गरिएको हो । सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ आईपीयूको सम्मेलनमा सहभागी हुन चैत २२ गते उज्वेकिस्तान जाने कार्यक्रम रहेको छ ।

सभामुख घिमिरे उज्वेकिस्तान जानुअघि नै संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी गरिएको हो । अन्तर व्यवस्थापिका संघको सम्मेलन आगामी चैत २३ गतेदेखि २७ गतेसम्म हुँदैछ । त्यसैले सरकारले चैत २० गते अधिवेशन अन्त्यको तयारी गरेको स्रोतले बतायो । संसदको हिउँदे अधिवेशन गत माघ १८ गते सुरु भएको थियो ।

सभामुख विदेश जानु अघि नै पाँच वटा प्रतिस्थापन विधेयक संघीय संसदका दुवै सदनबाट पास गरी राष्ट्रपतिबाट प्रमाणीकरण गरिसक्ने तयारी छ । सम्भवतः चैत १८ गते राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने र अधिवेशन अन्त्य गरी सभामुख विदेश जाने तयारी रहेको स्रोतले बतायो । सरकारले हिउँदे अधिवेशन आह्वान हुनुभन्दा करिब एक हप्ता अगाडि ६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये भूमिबाहेकका पाँच वटा प्रतिस्थापन विधेयकमार्फत् कानुन संशोधन प्रक्रिया अघि बढाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार हाल १२ वटा विधेयक विचाराधीन अवस्थामा छन् । हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुन्छ । बजेट पेश हुनु एक महिना अगाडि सदनमा प्रि–बजेट छलफल गरिन्छ । एक अधिवेशनदेखि अर्को अधिवेशनबीच कम्तीमा १५ दिनको समय आवश्यक हुने व्यवस्था भएकाले चैत तेस्रो साता नै हिउँदे अधिवेशन अन्त्यको तयारी गरिएको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७