रोल्पामा मावली गएका युवक जङ्गलमा मृत भेटिए


२०८१ चैत ५ मंगलबार १६:१६ बजे

रोल्पा । बाँकेका एक युवक रोल्पास्थित एक सामुदायिक वनमा मृत भेटिएका छन् । बाँकेको नेपालगञ्ज घर भई रोल्पास्थित मामाघरमा आएका २३ वर्षीय उमेश बुढामगर रोल्पाको जंगलमा मृत भेटिएका हुन् । 

मगर रोल्पा नगरपालिका–९ हानवाङस्थित सालघारी सामुदायिक वनमा सोमबार मृत फेला परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए । शाहीका अनुसार मगर करिब १२ दिनअघि मामाघरमा पाहुना आएका थिए । मामाघरमा भेटघाटको लागि भनेर आएका मगर रोल्पामा माउली हजुरआमासँग बस्दै आएका थिए। नेपालगञ्जमा भने उनी हजुरबुवासँग बस्दै आएका थिए ।

मृतक मगरलाई चैत १ गते दिउँसो रोल्पाको सदरमुकाम लिवाङ बजारको मेलामा स्थानीयले देखेको बताएका छन् । त्यसपछि उनी सम्पर्कविहीन थिए ।  उनको शव सोमबार माडीचौरबाट हाङबाङ जाने गोरेटो बाटोको दुई सय मिटरमुनि घोप्टो परेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक शाहीले बताए । 

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरी चौकी माडीचौरबाट प्रहरी सहायक निरीक्षक केशरबहादुर घर्ती मगरको कमाण्डमा तीन सदस्य टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी निरीक्षक रोहितकुमार शाहीको नेतृत्वमा सात जनाको टोली पुगेको थियो । मगरको मृत्यु भिरबाट लडेर भएको हुन सक्ने प्रहरीको आशंका छ । 

मृतक मगरकी श्रीमती भने छिमेकी देश भारतमा मजदुरीका लागि गएको भन्ने खुलेको शाहीले जानकारी दिएका छन् । प्रहरी निरीक्षक शाहीका अनुसार नेपालगञ्जबाट मृतकका हजुरबुवालाई बोलाइएको छ ।  शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल रेउघा पुर्‍याइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७