नेपालको तेस्रो हार : नामिबियासँग पराजित

काठमाडौं । युगाण्डामा जारी वुमन्स डे ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले तेस्रो हार व्यहोरेको छ । आज (बुधबार) एन्टेब्बे क्रिकेट ओभलमा नेपाल नामिबियासँग २३ रनले पराजित भयो ।
नामिबियाले दिएको १२६ रनको लक्क्ष पछ्याउने क्रममा नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै मात्र १०२ रन बनाउन सक्यो । यो हारसँगै नेपालको फाइनल सम्भावना कमजोर बनेको छ । नेपाली टोलीका लागि सना प्रवीनले सर्वाधिक ३१ रन बनाइन् । उनले ३७ बलको सामना गरिन् । त्यस्तै, कविता जोशीले १९ बलमा १७, पूजा महतोले १४ बलमा १५ तथा कप्तान इन्दु बर्माले १५ बलमा १५ रनको योगदान दिइन् ।
बलिङतर्फ नामिबियाका इभलिन केजरुकुवाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट हात पारिन् । विल्का माटी, साइमा तुहादेलेनी र मेकेलाए माटिलेले समान १–१ विकेट लिए । त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १२५ रनको योगफल खडा गरेको थियो । यो प्रतियोगितामा बनेको हालसम्मकै उच्च स्कोर हो।
नामिबियाका लागि यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् भने विल्का माटीले २० तथा अरास्ता डिगार्टले अविजित १६ रनको योगदान दिइन् । नेपालका बलरमध्ये ईश्वरी विष्टले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिइन्। रचनाकुमारी चौधरीले ४ ओभरमा मात्र ९ रन दिएर २ विकेट हात पारिन् । रिया शर्मा र कप्तान इन्दु बर्माले १–१ विकेट लिए।यसअघि, नेपालले आफ्नो पहिलो खेलमा नामिबियासँग पराजय ब्यहोरेको थियो । दोस्रो खेलमा युगाण्डालाई हराएको नेपाल तेस्रो खेलमा हङकङसँग पराजित भएको थियो । नेपालले लीग चरणमा अब दुई खेल खेल्न बाँकी छ ।