वुमन्स टी–२० क्रिकेट : नामिबियाले दियो नेपाललाई १२६ रनको लक्ष्य

काठमाडौं । युगाण्डामा जारी वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नामिबियाले नेपाललाई १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । एन्टेबे क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला बलिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२५ रनको योगफल तयार पारेको हो । नामिबियाले बनाएको यो स्कोर जारी प्रतियोगितामा अहिलेसम्मको सबैभन्दा बढी हो ।
नामिबियाका लागि यस्बिन खानले ४५ र विल्का वातिलले २० रन बनाइन् । नेपालका लागि ईश्वरी विष्टले ३ विकेट लिइन्। रचना चौधरीले २ तथा इन्दु बर्मा र रिया शर्माले समान एक विकेट झारे । प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले र तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो ।
घरेलु टोली युगान्डालाई भने नेपालले एक विकेटले पराजित गरेको थियो । जारी प्रतियोगितामा तीन खेल बाँकी रहँदा नेपाल दुई अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएकाले नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब छ ।