‘अराजकताको बाटोबाट हिंडेर कसैले केही प्राप्त गरिहाल्छु भन्ने सपना नदेखे हुन्छ’

सुदूरपश्चिम । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकार र स्थानीय सरकारलाई साथमा लिएर संघीय सरकार अघि बढ्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा उत्पन्न विविध अफ्ठेरा एवं व्यवधानका चुनौतीलाई सामना गर्न सबै प्रदेश सरकार र स्थानीय सरकारलाई साथमा लिएर अघि बढिने स्पष्ट पारे ।
उनले उद्यमशीलताको विकास गरी रोजगारीका अवसर सिर्जना गर्ने कामलाई अगाडि बढाउनु पर्ने बताए । प्रदेशलाई आधुनिक, विकसित, समृद्ध बनाउन र सुशासन कायम गर्न पहल हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘छिट्टै रोजगार प्रवद्र्धनका लागि हुन लागेको सम्मेलनमा सुदूरपश्चिम प्रदेशको पनि सहभागिता जरुरी छ ।’
प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको पालादेखि बिग्रिएको देशको अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले प्रयास गरिरहेको बताए । उनले आफू प्रदेशका समस्यासँग जानकार रहेको उल्लेख गर्दै कैलालीको गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा छिट्टै सञ्चालन गरिने बताए ।
टनकपुर सम्झौता गर्दा बिग्रिएको पञ्चेश्वर परियोजनालाई सुधारेर अघि बढेको, खुटिया–दिपायल–चैनपुर जाने बाटो महाकाली करिडोर, दार्चुलाको तिङ्करसम्म बाटो बनाउनेजस्ता विकासका काममा सरकारको ध्यान गएको उनले बताए ।सभ्यता, संस्कृति र विनम्रताको संस्कार भएको हाम्रो देशमा नराम्रो संस्कार देखाउने, असभ्यता देखाउने बाटोमा धकेल्ने प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘समाजमा सभ्य, शालीन उन्नत संस्कृति स्थापित गर्न सबै लाग्नुपर्छ।’
लोकतन्त्र, संविधान र कानुन नमान्ने प्रवृत्ति बढेको तथा अस्थितरता र अराजक क्रियाकलापले देश अफ्ठेरोमा पर्न लागेकाले लोकतान्त्रिक विधि र कानुनअनुसार देश चल्नुपर्ने उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘नेपालको संविधान कसैले दिएको नभई जनताको बलिदानीसहित संविधानसभाबाट बनेको संविधान हो, अराजकताको बाटोबाट हिँडेर कसैले केही प्राप्त गरिहाल्छु भन्ने सपना नदेखे हुन्छ ।’
सुशासन र विकासका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । कांग्रेस र एमालेको अहिलेको सरकारले सहमतिबमोजिम पूरा समय काम गर्ने प्रधानमन्त्री ओलीले बताए । प्रदेशलाई विकसित एवं समृद्धिको दिसामा लैजाने काममा लाग्न उहाँले प्रदेशसभा सदस्यहरुलाई आग्रह गरे ।