पूर्वराजा शाहलाई स्वागत गर्दाको भिड चलचित्र ‘माग्ने राजा’ मा देख्न पाइने


०४:२६ बजे

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज (आइतबार) काठमाडौंमा स्वागत गर्दा उपस्थित भिड चलचित्रमा हेर्न पाइने भएको छ । केदार घिमिरे (माग्ने बुढा) को शीर्ष अभिनय रहेको चलचित्र ‘माग्ने राजा’ का लागि उक्त भिडको दृश्य खिचिएको हो ।

पूर्वराजाको स्वागतमा देखिएको भिडलाई ड्रोनसहित ३-४ वटा क्यामेराबाट खिचिएको फिल्मका लेखक सामिप्यराज तिमिल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार फिल्ममा दर्शकको भिड देखाउनु पर्ने भएकाले उक्त दृश्य उपयुक्त लागेपछि खिचिएको हो ।

चलचित्रमा धेरै भिड देखाउनु पर्ने भएकाले आयोजकको अनुमतिमै प्रदर्शनकारीको दृश्य खिचिएको फिल्मका लेखक सामीप्यराज तिमल्सेनाले जानकारी दिए । आयोजकबाट स्वीकृतिसहितको पत्र लिएर यो दृश्य खिचिएको हो । खिचिएका दृश्य फिल्मको २ देखि ३ मिनेटसम्म प्रयोग गरिने जनाइएको छ । तर, जुलुसमा खिचिएका पोस्टर र आवाज भने फिल्ममा समावेश हुने छैनन् ।

उनका अनुसार स्वीकृतिपछि एयरपोर्टमा २, गौशालामा २, चाबहिलमा २, गोपिकृष्ण हलदेखि महाराजगन्ज चोकसम्म एक क्यामेराले दृश्य खिचिएको थियो । ‘हाम्रो फिल्ममा क्राउडको सिक्वेन्स छ । त्यसका लागि कुनै पार्टीको नभई राष्ट्रिय झण्डा बोकेको भिडको दृश्य चाहिन्थ्यो । पूर्वराजाको स्वागतमा राष्ट्रिय झण्डा प्रयोग हुने भन्ने थाहा पाएपछि यही माहोलमा खिच्यौं,’ उनले सुनाए । उनले चलचित्रका लागि पूर्वराजा ज्ञानेन्द्र शाहको दृश्य भने कैद नगरिएको जानकारी दिएका छन् । ‘चलचित्रसँग पूर्वराजाको केही सम्बन्ध छैन,’ उनले भने ।

ऋषि लामिछानेको निर्देशन रहेको ‘माग्ने राजा’ यतिबेला धमाधम छायांकन भइरहेको छ । फिल्ममा केदारसहित आर्यन सिग्देल, वर्षा शिवाकोटी, शारदा गिरी, विल्सनविक्रम राई, शिशिर वाङदेल लगायतको अभिनय छ । आरम्भ प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भइरहेको फिल्मका निर्माता मुनाल घिमिरे हुन् । छायांकन नरेन्द्र मैनालीले गरिरहेका छन् । फिल्मको प्रदर्शन मिति आगामी तीजका लागि तय भइसकेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७