‘ब्रेक फेल’ भएर जीप दुर्घटना : दुईको मृत्यु, पाँच जना घाइते

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–९ मा पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
सोमबार बडिगाड गाउँपालिका–७ भीमगिठेदेखि वडा नं. ९ दर्लिङको खहरे जाँदै गरेको लु ३ च ५५६९ नं. को पिकअप जीप दर्लिङको सार्किपाटामा दुर्घटना हुँदा निसिखोला गाउँपालिका–७ चोलाङका ७५ वर्षीय खड्क बहादुर कुँवर र ढोरपाटन नगरपालिका–५ नाथुरेकी ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवले बताए ।
दुवै जनाको बुर्तिबाङ अस्पतालमा उपचारको क्रममा निधन भएको डीएसपी यादवले बताए । दुर्घटनामा बडिगाड गाउँपालिका–९ का ६३ वर्षीया तेजकुमारी बुढा गम्भीर घाइते भएकी छिन् । उनलाई बुर्तिबाङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ । यस्तै बडीगाड गाउँपालिका–९ खहरेकी ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यमकुमारी पौडेल, ३० वर्षीया सिता पौडेल र सवारी चालक बडिगाड गाउँपालिका–९ दर्लिङका २३ वर्षीय हिमाल घर्ती घाइते भएका छन् ।
घाइते निमसरा बुढा र यम कुमारी पौडेलको अवस्था मध्यम रहेको छभने सिता पौडेल र हिमाल घर्तीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूको बर्तिबाङ अस्पतालमा उपचार भइरहेको डीएसपी यादवले बताए । सवारी चालक घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जीप उकालोमा ब्रेक फेल भई सडकदेखि ५०÷६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।