काठमाडौं महानगर मेरो पनि हो, ५–६ दिनभित्रै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रमुख प्रशासकीय अधिकृत खाली भएका ठाउँहरूमा एक हप्ताभित्रै नयाँ अधिकृत नियुक्त गर्ने बताएका छन् । आज (सोमबार) संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री गुप्ताले सहसचिवहरू लोकसेवा आयोगबाट बढुवा भएर आएका र अहिले तालिमका क्रममा रहेकाले एक हप्ताभित्र प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्ने बताए ।
उनले भने, ‘सहसचिवहरू लोकसेवा आयोगबाट बढुवा भएर आएका छन् । उनीहरूको तीन दिनको तालिम बाँकी छ । यसैगरी ५–६ दिनभित्र काठमाडौं महानगरपालिका लगायत प्रमुख प्रशासकीय अधिकृत बिहीन भएका महानगर तथा उपमहानगरहरूमा नयाँ अधिकृत पठाउने तयारी गरिएको छ ।’
उनले काठमाडौं महानगरपालिकालाई संघीय मामिला मन्त्रालयको कार्यालयको रूपमा व्याख्या गर्दै त्यहाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्ने जिम्मेवारी आफ्नो रहेको बताए । मन्त्री गुप्ताले भने, ‘काठमाडौं महानगरपालिका मेरो कार्यालय हो । त्यहाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्ने काम मेरो हो । मेयर सायबको भूमिका त्यसभन्दा पृथक छ।’ मन्त्रीले काठमाडौं महानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत खाली रहेको बताउँदै केही दिनभित्रै नयाँ अधिकृत नियुक्त गर्ने प्रतिबद्धता जनाए ।