मौलापुरको पतौराधाममा शिव–पार्वतीको भव्य ‘बरात यात्रा’

रौतहट । नेपालमै पहिलो पटक रौतहटको मौलापुर नगरपालिकास्थित पतौराधाममा भगवान शिवपार्वतीको बरात यात्रा निस्केको छ । आज (सोमबार) गाउँगाउँबाट लाखौंको सहभागितामा शिवपार्वतीको बरात यात्रालाई स्थानीयले फूलको बर्षासहित स्वागत गरेका छन् ।
बसहामा शिव सवार रहेको सो बरात यात्रामा भगवान ब्रह्मा, बिष्णुसंगै ५६ कोटदेवतासहित बोमवम कवरियाका साथै स्थानीयहरु सहभागी छन् । तीन वटा टयाक्टरमा बसहा र त्यसमाथि दुल्हाझै सजिएर भगवान शिव आफ्नो बराती लिएर पार्वतीको घरमा जाँदै गर्दा सहभागीहरुले शिवको जयजयकार गर्दै अगाडि बढिरहेका थिए ।
भगवान शिवको बरात यात्रा निष्केपछि गाउँगाउँमा फूलको बर्षाले स्थानीयले स्वागत गरिरहेको दृष्य देखिन्छ। जव शिव जन्ती लिएर पार्वतीको घरमा पुगेपछि आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले स्वागत गरेका छन् । दुलहा (बेहुला) शिवसहित जन्तीलाई साहले स्वागत गरेपछि विधिवत रुपमा विवाहका कार्यक्रम स्थानीय रीतिरिवाज अनुसार अगाडि बढेको थियो ।
दर्जनभन्दा बढी गेरुवा बस्त्रधारीका साथै गाउँगाउँबाट शिवलिलासहितको झाँकी समेत शिवको बरात यात्रामा सहभागि रहेको छ । शिवको बरात यात्रामा मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँ, भारतको बिहार राज्यका पूर्वमन्त्री बिनय बिहारीसहितका बिभिन्न पार्टीका नेताहरुको समेत सहभागिता रहेको छ ।
‘नेपालमै पहिलो पटक यहाँ शिवपार्वतीको वरात यात्रा निकालिएको हो । बरातमा भगवान ब्रह्मा, बिष्णुसंगै ५६ कोटदेवतासहित बोमवम कवरियाका साथै स्थानीयको सहभागिता छ । पतौराधामस्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरमा आयोजना हुने मधानी महोत्सवको दोस्रो दिन भगवान शिवको वरात यात्रा निकाल्ने कार्यक्रम अनुसार बरात यात्रा निकालिएको हो । मौलापुर नगरपालिकाको आयोजनामा शिवरात्रीको समयमा मधानी महायज्ञ हुदैआएको छ । ११ फागुनबाट सुरु भएको मधानी महायज्ञ १५ फागुनसम्म बिभिन्न कार्यक्रमसहित हुने गरेको छ ।
मौलापुर नगरपालिका पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित सुरु भएको मधानी महायज्ञ पाँच दिनसम्म चल्नेछ । प्रत्येक बर्ष भगवान शिव पार्वतीकोको विवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण समेत हुने गरेको गरेको छ । नेपाल र भारतका लाखौं दर्शनार्थीहरु दर्शन गर्न यहाँ आउने भएकाले त्यसले दुई देशको सम्बन्ध अझै बलियो बनाउने विश्वास उनले व्यक्त गरिन् ।
११ फागुनमा मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको अध्यक्षतामा उद्धघाटन भएको मधानी महोत्सवमा बिभिन्न विद्यालयका विद्यार्थीहरुले शिक्षा-साक्षारत केन्द्रीत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् । मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित मधानी महायज्ञ भईरहेको बताउँदै मेयर साहले यसलाई ढिलाई नगरी विश्वसम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने माग सरकारसँग गरिन् ।
मधानी महायज्ञ प्राचिन यज्ञ भएको र यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको छ । ११ फागुनदेखि सुरु भएको मधानी महोत्सव १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पुजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।
आयोजकका अनुसार प्रत्येक बर्ष जस्तै यस बर्ष पनि मधानी महायज्ञमा नेपाल र भारतका चर्चित कलाकारहरु आउँदै छन् । हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन, भोजपुरी सिने जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको महायज्ञमा हुने विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।
यसैगरी मधानी महायज्ञमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित मिंटुवा भोजपुरीया (कलाकार), सुनील पंडित (गायक), अनु चौधरी (गायिका), सदाम हुसेन (कलाकार), रचना सिशाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रीति आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बीसी (कलाकार), मनीषा राई (कलाकार) सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको समेत सहभागिता हुँदैछ ।